डोल्पाका विद्यार्थीलाई मेडिकल अध्ययनका लागि डा. सुनिल शर्माको एक करोड १४ लाखको छात्रवृत्ति घोषणा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ मंसिर २०८३, शनिबार
2 Min Read
Aa

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा गिरिजाप्रसाद कोइराला फाउन्डेसनका सभापति डा. सुनिल शर्माले हिमाली जिल्ला डोल्पाका गरिब तथा विपन्न परिवारका जेहेनदार विद्यार्थीलाई लक्षित गरी एक करोड १४ लाख रुपैयाँ बराबरको छात्रवृत्ति घोषणा गरेका छन्। मंसिर ११, २०८३ (शुक्रबार) डोल्पा सदरमुकाम दुनैमा आयोजित एक बृहत् निःशुल्क स्वास्थ्य शिविरका क्रममा उनले उक्त घोषणा गरेका हुन्।

केएमसी र नोबेल मेडिकल कलेजमा निःशुल्क अध्ययन
घोषणाअनुसार डोल्पाबाट एसईई उत्तीर्ण गरेका विपन्न तथा जेहेनदार विद्यार्थीले स्वास्थ्य शिक्षाका विभिन्न ६ वटा विधामा उच्च शिक्षा हासिल गर्न पाउनेछन्। छनोट भएका विद्यार्थीलाई डा. शर्मासम्बद्ध काठमाडौँ मेडिकल कलेज (केएमसी) र नोबेल मेडिकल कलेज, विराटनगरमार्फत निःशुल्क अध्ययनको व्यवस्था मिलाइने जनाइएको छ।

- Advertisement -
Ad image

दुनै शिविरमा दुई हजारले लिए सेवा, ५ जनाको निःशुल्क मिर्गौला प्रत्यारोपण गरिने
कर्णालीका दुर्गम बस्तीमा विशेषज्ञ स्वास्थ्य सेवा पुर्‍याउने अभियानअन्तर्गत दुनैमा आयोजित शिविरमा एकै दिन करिब २,००० स्थानीयले स्वास्थ्य परीक्षण गराएका छन्। शिविरमा ३४९ जनाको भिडियो एक्सरे, २०४ जनाको इको, १६३ जनाको प्रयोगशाला परीक्षण र १०३ जनाको ईसीजी गरिएको थियो।

शिविरमा आएकामध्ये थप उपचार आवश्यक देखिएका ८२ जना बिरामीलाई काठमाडौँ मेडिकल कलेज (केएमसी) रिफर गरिएको छ। ती बिरामीको मिर्गौला प्रत्यारोपण र ओपन हार्ट सर्जरीबाहेक अन्य सबै शल्यक्रिया केएमसीमा निःशुल्क गरिनेछ। यसका साथै, शिविरसम्म आउन नसकेका डोल्पाका थप १०० जना बिरामीको केएमसीमा निःशुल्क उपचार गर्ने र ५ जना बिरामीको निःशुल्क मिर्गौला प्रत्यारोपण गरिदिने घोषणासमेत शर्माले गरेका छन्।

रुकुम पश्चिम र सल्यानमा पनि शिविर हुँदै
दुर्गम क्षेत्र लक्षित सोही स्वास्थ्य अभियानअन्तर्गत मंसिर १३ गते रुकुम पश्चिमको राडी बजार र मंसिर १५ गते सल्यानको बागचौर नगरपालिकामा पनि बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने आयोजकले जनाएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्