मलेसिया जाने श्रमिक ठगी प्रकरणमा सीआईबीको ठूलो एक्सन: पूर्व श्रममन्त्रीद्वय कुँवर र यादवसहित ६ उच्चपदस्थ पक्राउ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ मंसिर २०८३, बुधबार
1 Min Read
Aa

काठमाडौँ – वैदेशिक रोजगारीका क्रममा मलेसिया जाने नेपाली श्रमिकमाथि सङ्गठित रूपमा ठगी गरी गैरकानुनी रूपमा संकलित रकम विदेश पठाउने निर्णयमा संलग्न रहेको अभियोगमा पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित ६ जना उच्चपदस्थ व्यक्ति पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर काठमाडौँ, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूमा दुई पूर्वमन्त्रीसँगै श्रम मन्त्रालयका तत्कालीन सचिव, दुई सहसचिव र एक उपसचिव रहेका छन् ।

- Advertisement -
Ad image

को-को परे पक्राउ ?
सीआईबीले जारी गरेको विज्ञप्तिअनुसार पक्राउ पर्नेहरूमा पूर्व श्रममन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादवका साथै मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुख (सहसचिव) द्वय उमेश ढुङ्गाना र राजीव पोखरेल तथा तत्कालीन उपसचिव (कानुन अधिकृत) निर्मला गुरुङ रहेका छन् ।

के हो मुख्य अभियोग ?
मलेसिया जाने श्रमिकहरूमाथि विभिन्न संयन्त्रमार्फत सङ्गठित रूपमा ठगी भइरहेको विषयमा कानुनी उपचार तथा कारबाहीको प्रक्रिया अघि बढाउनुको सट्टा गैरकानुनी रूपमा असुल गरिएको रकम मलेसिया पठाउने नीतिगत निर्णयमा उनीहरूको प्रत्यक्ष संलग्नता देखिएको सीआईबीले जनाएको छ ।

पक्राउ परेका छ जनाविरुद्ध नै ‘ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसुर’ मा अदालतबाट म्याद थप गरी विस्तृत अनुसन्धान अघि बढाइएको ब्युरोले स्पष्ट पारेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्