मिशाराको कीर्तिमानी शतक र रिजनको घातक बलिङमा काठमाडौँलाई ६१ रनले स्तब्ध पार्दै चितवन एनपीएलको दोस्रो क्वालिफायर्समा, फाइनलका लागि सुदूरपश्चिमसँग भिड्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ मंसिर २०८३, बुधबार
3 Min Read
Aa

काठमाडौँ – श्रीलंकाली ब्याटर कामिल मिशाराको ऐतिहासिक शतक र रिजन ढकालको घातक बलिङको मद्दतले काठमाडौँ गोर्खाजलाई ६१ रनको फराकिलो अन्तरले पराजित गर्दै चितवन राइनोज नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको दोस्रो क्वालिफायर्समा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार सम्पन्न इलिमिनेटर खेलमा भोगेको यो हारसँगै काठमाडौँ गोर्खाजको उपाधि यात्रा टुङ्गिएको छ ।

जितसँगै चितवनले अब फाइनल प्रवेशका लागि बिहीबार हुने दोस्रो क्वालिफायर्समा सुदूरपश्चिम रोयल्सको सामना गर्नेछ । यस खेलको विजेताले शनिबार उपाधिका लागि लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ ।

- Advertisement -
Ad image

टस जितेर पहिले ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०४ रनको विशाल योगफल खडा गरेको थियो । २०५ रनको कठिन लक्ष्य पछ्याएको काठमाडौँ निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १४३ रनमा समेटिएपछि चितवनले सानदार जित दर्ता गरेको हो ।

चितवनको सुरुवात निकै खराब रहे पनि मिशारा र रवि बोपाराको साझेदारीले खेलको नक्सा बदलिदियो । चौथो ओभरमा २२ रन जोड्दा २ विकेट गुमाइसकेको अवस्थामा क्रिजमा जमेका मिशाराले ५९ बलमा १० छक्का र ५ चौकाको मद्दतले अविजित १२० रन प्रहार गरे । यो एनपीएल इतिहासकै सर्वाधिक उच्च व्यक्तिगत स्कोर हो ।

उनलाई साथ दिएका बोपाराले ४२ बलमा ५३ रन जोड्दै तेस्रो विकेटका लागि १५४ रनको विशाल साझेदारी गरेपछि चितवन २०० रनको आँकडा पार गर्न सफल भयो । बलिङतर्फ चितवनका रिजन ढकालले ४ ओभरमा मात्र १६ रन खर्चेर ४ विकेट लिँदै काठमाडौँको ब्याटिङ लाइनअप ध्वस्त पारे । उनलाई उसामा मिरले ४ ओभरमा १५ रन दिएर ३ विकेट लिँदै उत्कृष्ट साथ दिए ।

खेलको सुरुवाती चरणमा कप्तान करण केसीले लगातार दुई बलमा दुई विकेट लिँदै काठमाडौँलाई बलियो पकड दिलाएका थिए । तर, फिल्डिङमा गरेको गम्भीर गल्ती काठमाडौँका लागि महँगो साबित भयो । व्यक्तिगत २७ रनमा खेलिरहेका मिशाराको सहज क्याच विलियम बोसिस्टोले छाडेका थिए भने लगत्तै सहान अराचिगेले पनि अर्को जीवनदान दिए ।

दुई पटक पाएको जीवनदानको भरपूर फाइदा उठाउँदै मिशाराले शतकीय इनिङ्स खेले । विशाल लक्ष्य पछ्याउने क्रममा काठमाडौँका ब्याटरहरूले दबाब थेग्न सकेनन् । विलियम बोसिस्टोले ३७, भीम सार्कीले अविजित ३० र सहान अराचिगेले २४ रन बनाउनुबाहेक अन्य ब्याटर सस्तैमा पभेलियन फर्किएपछि काठमाडौँ प्रतियोगिताबाट बाहिरिन बाध्य भयो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्