काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्ले–अफ अन्तर्गत इलिमिनेटर खेलमा आज काठमाडौँ गोर्खाज र चितवन राइनोज आमनेसामने हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यो निर्णायक भिडन्त नेपाली समयअनुसार साँझ ५ बजेदेखि सुरु हुनेछ। दुवै टोलीका लागि ‘गर या मर’ को अवस्थामा रहेको यस खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ भने विजेताले फाइनल प्रवेशका लागि अर्को अवसर पाउनेछ।
आजको खेल जित्ने टोलीले बिहीबार हुने दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ। हिजो सम्पन्न पहिलो क्वालिफायरमा साविक विजेता लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएपछि सुदूरपश्चिमले दोस्रो क्वालिफायर खेल्न लागेको हो। दोस्रो क्वालिफायरको विजेताले उपाधिका लागि शनिबार लुम्बिनी लायन्ससँग फाइनल खेल्नेछ।
लिग चरणको अंक तालिकामा काठमाडौँ गोर्खाज तेस्रो र चितवन राइनोज चौथो स्थानमा रहँदै प्ले–अफमा स्थान बनाएका हुन्। लिग चरणमा खेलेका ७ खेलमध्ये ४ जित र ३ हारसहित ८ अंक जोडेर काठमाडौँ तेस्रो बनेको थियो भने समान खेलमा ३ जित, ३ हार र एक खेल वर्षाले रद्द भएपछि ७ अंक जोडेको चितवन चौथो स्थानमा रहेको थियो। समूह चरणमा यी दुई टोलीबीच भएको भेटमा काठमाडौँले १८१ रनको लक्ष्य रक्षा गर्दै चितवनलाई १० रनले पराजित गरेको थियो।
करण केसीको कप्तानीमा रहेको काठमाडौँ गोर्खाज समूह चरणको सोही जितको लयलाई कायम राख्दै दोस्रो क्वालिफायरमा पुग्ने दाउमा छ। काठमाडौँको टोलीमा राशिद खान र भीम सार्की जस्ता प्रभावशाली खेलाडीहरू छन्। अर्कोतर्फ, सिकन्दर राजाको नेतृत्वमा रहेको चितवन राइनोज लिग चरणको हारको बदला लिँदै उपाधि यात्रालाई जीवित राख्ने लक्ष्यसहित मैदान उत्रनेछ। चितवनको टोलीमा रवि बोपारा, कुशल मल्ल र देव खनाल जस्ता अनुभवी तथा युवा खेलाडीहरूको साथ छ।


प्रतिक्रिया दिनुहोस्