गुल्मी – जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) पर्वतकुमार केसी आफ्नै सरकारी निवास (क्वार्टर) भित्र मृत अवस्थामा फेला परेका छन्। मंगलबार बिहान कार्यालय परिसरमै रहेको सिनियर अधिकृत निवासमा अचेत अवस्थामा भेटिएका केसीलाई तत्काल अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका हुन्।
प्रहरीका अनुसार केसी मंगलबार बिहान साढे ९ बजेसम्म पनि कोठाबाट बाहिर ननिस्किएपछि सहकर्मीहरूले खोजी गरेका थिए। निवासको ढोका भित्रबाट चुकुल लगाइएको र लामो समयसम्म नखुलेपछि प्रहरी टोली झ्यालबाट भित्र प्रवेश गर्दा उनी अचेत अवस्थामा भेटिएका थिए। उद्धार गरी तत्काल जिल्ला अस्पताल गुल्मी पुर्याइएका उनलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भीमकिरण बोगटीले जानकारी दिए।
मृतक केसीको शव हाल पोस्टमार्टमका लागि जिल्ला अस्पताल गुल्मीमा राखिएको छ। एसपी बोगटीका अनुसार पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि मात्रै मृत्युको वास्तविक कारण खुल्नेछ।
सुर्खेतको छिन्चु स्थायी घर भएका केसी पछिल्लो समय नेपालगञ्जमा बसोबास गर्दै आएका थिए। उनी वि.सं. २०५५ सालमा प्रहरी सहायक निरीक्षक (असई) पदबाट नेपाल प्रहरीको सेवामा प्रवेश गरेका थिए। घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाएको छ।


प्रतिक्रिया दिनुहोस्