नेप्सेमा दोहोरो अंकको गिरावट, परिसूचक घट्दा पनि कारोबार रकम पौने ५ अर्ब नाघ्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ मंसिर २०८३, मंगलवार
2 Min Read
Aa

काठमाडौं – साताको पहिलो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ। मंसिर १ गते नेप्से १२.७९ अंकले ओरालो लाग्दै २६३६.१० विन्दुमा आएर बन्द भएको हो।

परिसूचक ०.४८ प्रतिशतले घटे पनि बजारमा कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा उल्लेख्य रूपले वृद्धि भई ४ अर्ब ७३ करोड ११ लाख ७८ हजार रुपैयाँ पुगेको छ।

- Advertisement -
Ad image

यस दिन कुल ३५३ वटा सूचीकृत कम्पनीका १ करोड १२ लाख ९३ हजार ४५० कित्ता सेयर ४८ हजार ७८८ पटक किनबेच भएका छन्। अघिल्लो कारोबार दिन शुक्रबार बजारमा ३ अर्ब ५ करोड रुपैयाँ बराबरको मात्र कारोबार भएको थियो। मंगलबार ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.३२ अंकले र फ्लोट इन्डेक्स ०.८३ अंकले घटेका छन्।

कारोबारमा आएकामध्ये १८५ कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा बजार दबाबमा देखिएको हो। यस दिन ८६ कम्पनीका लगानीकर्ताले कमाएका छन् भने ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

उपसमूहगत रूपमा हेर्दा १३ वटा उपसमूहमध्ये म्युचुअल फन्ड उपसमूहको परिसूचक मात्रै ०.१२ प्रतिशतले सामान्य बढेको छ भने बाँकी १२ वटै उपसमूह राताम्मे बनेका छन्। जसमध्ये होटल तथा पर्यटन उपसमूहले सर्वाधिक १.२१ प्रतिशत गुमाएको छ भने जीवन बीमा र विकास बैंक दुवै उपसमूह समान ०.८४ प्रतिशतले घटेका छन्।

समग्र बजार घट्दा पनि अपर लोहोरे खोला हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ११.८४ प्रतिशतले बढेर प्रतिकित्ता ३५९ रुपैयाँ पुगेको छ। त्यस्तै, सेन्ट्रल फाइनान्सको सेयर मूल्य ६.०० प्रतिशतले बढेर ६३६.९० रुपैयाँ र एपोलो हाइड्रोपावरको ५.६५ प्रतिशतले वृद्धि भएको छ।

अर्कोतर्फ, एभरेष्ट कलरका लगानीकर्ताले सर्वाधिक ५.३६ प्रतिशत गुमाउँदा सेयर मूल्य १ हजार १८२ रुपैयाँमा झरेको छ भने सीवाईसी नेपाल लघुवित्तको मूल्य ४.८६ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा यस दिन ७ प्रतिशत नबिल डिबेञ्चर २०८९ शीर्ष स्थानमा रहँदै २८ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। यसैगरी, घलेम्दी हाइड्रोपावरको २० करोड ३१ लाख रुपैयाँ र सेन्ट्रल फाइनान्सको १९ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्