अन्तिम समयमा रोकियो ऊर्जामन्त्री श्रेष्ठको भारत भ्रमण ! कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ मंसिर २०८३, बुधबार
2 Min Read
Aa

काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ प्रधानमन्त्री बालेन शाहसँगै आसन्न भारत भ्रमणमा नजाने भएका छन् । आगामी मंसिर ६ गतेबाट सुरु हुने प्रधानमन्त्री शाहको भ्रमण टोलीबाट अन्तिम समयमा आएर मन्त्री श्रेष्ठको नाम हटाइएको हो ।

मन्त्रिपरिषद् वरीयतामा अगाडि रहेका अर्थमन्त्रीसमेत प्रधानमन्त्रीसँगै भारत भ्रमणमा जाने तय भएपछि देशको कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्न श्रेष्ठलाई काठमाडौँमै रोक्न लागिएको बालुवाटार स्रोतले जनाएको छ ।

- Advertisement -
Ad image

तयारी पूरा भइसकेको भ्रमण एकाएक रद्द
भ्रमणको अघिल्लो दिनसम्म मन्त्री श्रेष्ठ भारत जाने निश्चितप्रायः थियो । मङ्गलबार मात्रै नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाले मन्त्री श्रेष्ठसँग शिष्टाचार भेटवार्ता गरेपछि मन्त्रीको सचिवालयले नै उनी भ्रमण टोलीमा सहभागी हुने व्यहोराको प्रेस नोट जारी गरेको थियो । भारत भ्रमणकै तयारीका लागि उनले मन्त्रालयका नियमित आन्तरिक कार्यक्रमहरू स्थगित गरी द्विपक्षीय ऊर्जासम्बन्धी एजेन्डासमेत तयार पारिसकेका थिए ।

तर, अन्तिम समयमा भ्रमण दलबाट नाम काटिएको विषयमा आफूहरूलाई औपचारिक जानकारी नआएको ऊर्जा मन्त्रालयका अधिकारीहरूले बताएका छन् । श्रेष्ठसँगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीसमेत भ्रमण टोलीमा सहभागी नहुने भएका छन् ।

१५ सदस्यीय छरितो टोली भारत जाँदै
सरकारी खर्च कटौती र मितव्ययिता अपनाउने नीतिअनुरूप प्रधानमन्त्री शाहको भारत भ्रमण दलमा सरकारी खर्चमा बढीमा १५ जना मात्र सहभागी गराउने तयारी गरिएको छ । मंसिर ६ र ७ गतेका लागि तय भएको उक्त भ्रमण टोलीमा प्रधानमन्त्री शाहसँगै परराष्ट्रमन्त्री शिशिर खनाल, भौतिक पूर्वाधार विकासमन्त्री सुनील लम्साल, पर्यटनमन्त्री खडकराज पौडेल र अर्थमन्त्रीलगायत सहभागी हुनेछन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्