काठमाडौँ – साताको अन्तिम कारोबार दिन शुक्रबार धितोपत्र बजारमा हरियाली छाएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १२.९६ अंक (०.४८ प्रतिशत) ले बढेर २,६८५.५४ विन्दुमा पुगेर बन्द भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा समेत वृद्धि भएको छ। बिहीबार ३ अर्ब ३८ करोड रुपैयाँको सेयर खरिदबिक्री भएकोमा आज कुल ३३७ कम्पनीका ८८ लाख ५१ हजार २१६ कित्ता सेयर ३ अर्ब ७५ करोड ९७ लाख २२ हजार ३४० रुपैयाँमा कारोबार भएको छ।
आजको बजारमा अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ। कुल कारोबार भएका कम्पनीमध्ये १८० वटाको मूल्यमा वृद्धि भएको छ भने ८२ वटा कम्पनीको मूल्य घटेको छ। बाँकी १३ कम्पनीको सेयर मूल्य स्थिर रह्यो। कारोबार भएका १३ उपसमूहमध्ये ११ वटामा सुधार आएको छ। निर्जीव बीमा र ट्रेडिंग उपसमूह मात्र आज ओरालो लागेका छन्।
यस दिन एभरेष्ट कलर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्, जसको सेयर मूल्य १४.९९ प्रतिशतले वृद्धि भएको छ। अर्कोतर्फ, बोटलर्स नेपालको सेयर मूल्यमा ५.३३ प्रतिशतको गिरावट आउँदै सर्वाधिक गुमाउने कम्पनी बनेको छ। यस्तै, रिडी पावर कम्पनी आज कारोबार रकमका आधारमा अग्रस्थानमा रह्यो। यसको १७ करोड २६ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।

प्रतिक्रिया दिनुहोस्