काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीमा विकसित भएको अति शक्तिशाली चक्रवात ‘अर्नब’ को प्रभाव आज बिहीबारदेखि नेपालमा उल्लेखनीय रूपमा पर्ने जनाएको छ।
पश्चिममध्य बंगालको खाडीमा बनेको यो चक्रवात बुधबार बिहान सवा ८ बजेतिर भारतको आन्ध्र प्रदेश र यानमको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गरेको थियो। चक्रवातको प्रभावका कारण गएरातिदेखि नै देशभरको आकाशमा साधारणतया बादल लागे पनि तत्काल वर्षा भने भइसकेको छैन।
मौसम महाशाखाले एक विशेष सूचना जारी गर्दै बिहीबारदेखि चक्रवातको उल्लेखनीय असर देखिने भएकाले आम नागरिकलाई आ–आफ्नो स्थानअनुसार मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहन र आवश्यक सतर्कता अपनाउन अपिल गरेको छ।
यसअघि कात्तिक १२ गते साँझदेखि १४ गतेसम्म देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा असिना र हिमपातको पूर्वानुमान गरिएकाले मौसममा आउने यो परिवर्तनप्रति विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।


प्रतिक्रिया दिनुहोस्