काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पछिल्ला राजनीतिक घटनाक्रम र शक्ति सन्तुलनका बिच उच्चस्तरीय राजनीतिक भेटघाटलाई तीव्र पारेका छन् । बुधबार प्रधानमन्त्री बालेन शाहसँग लामो छलफल गरेका लामिछानेले त्यसको भोलिपल्ट बिहीबार दिउँसो सभामुख डोलप्रसाद (डीपी) अर्याललाई भेटेका हुन् ।
बिहीबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा दुई नेताबीच करिब २० देखि ३० मिनेट कुराकानी भएको छ । सभामुखको सचिवालयले यस भेटलाई ‘अनौपचारिक भेट’ को रूपमा उल्लेख गरेको छ । दुई जनाबीच मात्र संवाद भएकाले छलफलको विस्तृत विषय भने सार्वजनिक गरिएको छैन ।
यसअघि बुधबार प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति लामिछानेबीच बूढानीलकण्ठस्थित लामिछानेकै निवासमा करिब चारदेखि पाँच घण्टा लामो सघन वार्ता भएको थियो । प्रधानमन्त्रीसँगको लामो बैठकमा सरकारको कामकारबाहीको समीक्षा, अध्यादेश ल्याउने तयारी, राजनीतिक नियुक्तिहरू, रास्वपाका सांसद खगेन्द्र सुनारसँग जोडिएको विवादास्पद अडियो प्रकरण, प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको विषय तथा हालै चर्चामा आएको ‘इनम सापकोटा कनेक्सन’ लगायतका संवेदनशील विषयमा विस्तृत छलफल भएको बताइएको छ ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश, न्यायाधीश तथा नेताहरूबीच बिचौलिया इनम सापकोटाको कनेक्सन देखिएको विषयले राजनीतिक र न्यायिक वृत्त तातेका बेला रास्वपा सभापति लामिछानेले प्रधानमन्त्री र सभामुख दुवैसँग गरेको यस शृङ्खलाबद्ध भेटघाटलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ ।


प्रतिक्रिया दिनुहोस्