अन्तरिम सरकार गठनबारे आज पुनः छलफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ भाद्र २०८२, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनको विषयमा आज शुक्रबार बिहान ९ बजेबाट पुनः छलफल सुरु हुने भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा बिहीबार दिनभर र रातभर शीतल निवासमा संवैधानिक विज्ञ, पूर्वप्रधानन्यायाधीश कार्की र नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देलको सहभागितामा गहन छलफल भएको थियो।

- Advertisement -
Ad imageAd image

छलफलमा संसद विघटन गर्ने कि नगर्ने भन्ने विषयमा सहमति जुट्न नसकेपछि निष्कर्षमा पुग्न नसकेको स्रोतले जनाएको छ। यद्यपि, अन्तरिम सरकारको नेतृत्वका लागि सुशीला कार्कीलाई प्रधानमन्त्री वा मन्त्रिपरिषद् अध्यक्ष नियुक्त गर्ने विषयमा भने प्रारम्भिक सहमति बनिसकेको छ।

जेनजी युवाहरूको समूहले संसद विघटनलाई आन्दोलनको मुख्य मागका रूपमा प्रस्तुत गरेका छन्। तर संविधानअनुसार प्रधानमन्त्री बन्न संसद सदस्य हुनुपर्ने प्रावधानले राष्ट्रपति पौडेलले वैकल्पिक संवैधानिक उपायबारे विज्ञहरूसँग राय मागेका छन्।

छलफलमा जेनजी समूहको प्रतिनिधित्व गर्दै अधिवक्ता ओमप्रकाश अर्याल सहभागी थिए, जो काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका कानुनी सल्लाहकार पनि हुन्। बालेन शाहले कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनको पक्षमा समर्थन जनाइसकेका छन्।

राष्ट्रपति पौडेलले बिहीबार नेपाली कांग्रेसका नेताहरू तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि परामर्श गरेका थिए।

स्रोतका अनुसार, कांग्रेस नेताहरूले कार्कीको नेतृत्वमा सरकार गठन गर्न सकिने धारणा व्यक्त गरेका छन् भने प्रचण्डले पनि उक्त प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया दिएका छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्