आज नवरात्रको दोस्रो दिन: नवदुर्गा भवानीको दोस्रो रुप ब्रम्हचारिणी देवीको पुजा गरिंदै, को हुन् ब्रम्हचारिणी देवी ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ आश्विन २०८१, शुक्रबार
2 Min Read
Aa

काठमाडौं – नवरात्रको दोस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ ।

नवरात्रको पहिलो दिन बिहीबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो । दोस्रो दिन आज पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिँदै छ ।

- Advertisement -
Ad image

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।

यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गादेवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजाआराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।

को हुन् ब्रम्हचारिणी देवी ?

नवदुर्गाको दोस्रो रुप ब्रम्हचारिणी हो । ब्रम्ह शब्दको अर्थ आत्मा अर्थात् तपस्या हो । पाँचवटा हात भएकी ब्रम्हचारिणी शंख, चक्र, गधा, पध्म, जपमाला तथा अमृतले भरिएको अमृतघडाले सुशोभित छन् ।

ब्रम्हचारिणी अर्थात् तपश्विनी रुप धारण गरी जपमाला गन्दै ध्यानदृष्टिले दानव महिसासुरको बध गर्नै पर्ने हो कि हैन बध कसरी गर्ने जस्ता विषयको सुक्ष्म रुपले हेर्ने, सोच्ने वा ध्यानबाट आत्मज्ञान प्राप्त गर्ने कार्य यस दिनमा गरिएको हुनाले नवरात्रको दोस्रो दिनलाई आफ्नो आत्मज्ञान प्राप्त गर्ने दिनको रुपमा लिईन्छ ।

ब्रम्हचारिणी दुर्गाको रुप पूर्ण ज्योतिर्मय छ । ब्रम्हचारिणीले आफ्नो ब्रम्हज्ञान प्राप्त गर्न हातमा जपमाला लिएबाट नै माला जप गर्ने प्रचलन रहि आएको हो । आज हिन्दु धर्मावलम्वीहरुले भन्दा बौद्ध धर्मावलम्वीहरुले बढि माला जप गर्ने गरेको पाइन्छ । त्यसबाट पनि धार्मिक सहिष्णुताको पाठ सिक्न सकिन्छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्