काठमाडौँ – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र टोटनह्याम पराजित भएका छन् । उपाधि होडमा रहेको आर्सनल पराजित हुँदा म्यानचेष्टर सिटीलाई फाइदा पुगेको छ । गएरातिको खेलमा आर्सनल वेस्ट ह्यामसँग स्तब्ध भएको हो ।
इमिरेट्स स्टेडियममा भएको खेलमा वेस्ट ह्यामले घरेलु टोलीलाई २–० गोलले हरायो । वेस्ट ह्यामले खेलको पहिलो र दोस्रो हाफमा १,१ गोल गरेको थियो । वेस्ट ह्यामका टोमस सुसेकले १३ औँ र कोनस्टानटिनोस माभ्रोपानेसले ५५ औँ मिनेटमा गोल गरे ।
यो जितसँगै वेस्ट ह्याम १९ खेलमा ३३ अङ्कका साथ तालिकाको छैटौँ स्थानमा छ । आर्सनलले शीर्ष स्थानमा पुग्ने मौका गुमाएको छ । आर्सनल १९ खेलमा ४० अङ्कका साथ दोस्रो स्थानमा यथावत् छ । शीर्ष स्थानमा रहेको लिभरपुलको १९ खेलमा ४२ अङ्क छ ।
ईपीएलकै अर्को खेलमा ब्राइटनले टोटनहमलाई ४–२ गोलले हराएको छ । ब्राइटनका लागि जाओ पेड्रोले २ तथा ज्याक हिन्शेलवूड र पेभ्रिस स्टुपिनाले समान १ गोल गरे । टोटनह्यामका अलेजो भेलिज र बेन डेभिसले समान १ गोल गरे ।
जितसँगै ब्राइटन १९ खेलमा ३० अङ्कका साथ तालिकाको आठौँ स्थानमा छ । समान खेलमा ३६ अङ्क रहेको टोटनहम पाँचौँ स्थानमा छ । एक खेल कम खेलेको सिटी तालिकाको चौथो स्थानमा छ । आफ्नो १९औं खेल जितेमा सिटी शीर्ष स्थानमा उक्लने सम्भावना छ ।


प्रतिक्रिया दिनुहोस्