काठमाडौँ – धितोपत्र बजारमा आज तीव्र उतारचढावका बीच नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले बढेर बन्द भएको छ। दिनभर उतारचढावपूर्ण रहेको बजार अन्तिम समयमा २.३१ अङ्क (०.०८ प्रतिशत) ले वृद्धि हुँदै २,५७४.६५ को बिन्दुमा पुगेर अडिएको हो। ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०.८१ अङ्कले बढेर ४६२.०४ मा कायम भएको छ।
परिसूचकसँगै आज कारोबार रकममा पनि केही सुधार देखिएको छ। आज कुल ३०८ कम्पनीका १ करोड १२ लाख ३३ हजार ६३६ कित्ता शेयर रु. ३ अर्ब ९३ करोड ५ लाख ६० हजार ९५२ मा खरिद-बिक्री भएको छ। यो कारोबार रकम अघिल्लो दिन (बुधवार) को रु. ३.७४ अर्बको तुलनामा केही बढी हो। आज कारोबार भएका कम्पनीहरूमध्ये १४० कम्पनीको शेयर मूल्य बढेको छ, १२७ कम्पनीको घटेको छ भने ११ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
कुल १३ उपसमूहमध्ये आज बैंकिङ, विकास बैंक, जलविद्युत, र उत्पादन तथा प्रशोधन लगायतका ८ उपसमूहको सूचक सकारात्मक रह्यो भने होटल तथा पर्यटन, माइक्रोफाइनान्स, ट्रेडिङ र फाइनान्स सहित ५ उपसमूह राताम्मे बनेका छन्।
आजको बजारमा कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ। उक्त कम्पनीले हालै १८% बोनस शेयर घोषणा गरेका कारण लगानीकर्ताको आकर्षण बढेको हो। यसका साथै स्नो रिभर र लक्ष्मी भ्यालू फन्डको शेयर मूल्य पनि उल्लेख्य बढेको छ।
यता घलेम्दी हाइड्रोपावर, आरबिबी म्युचुअल फन्ड र मैबुलुङ इनर्जीका लगानीकर्ताहरूले भने आज सर्वाधिक गुमाएका छन्। समग्रमा, आजको बजारले लगानीकर्ताहरूमा पर्ख र हेरको अवस्था अझै कायमै रहेको सङ्केत गरेको छ।


प्रतिक्रिया दिनुहोस्