काठमाडौँ – नेपालको पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारी पूर्ण रूपमा नेकपा (एमाले) को दलगत राजनीतिमा फर्किएकी छन्। विहीबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक विशेष समारोहका बीच एमाले अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
यो शपथ ग्रहणसँगै उनी पार्टी अध्यक्षपछिको दोस्रो वरीयतामा रहने गरी वरिष्ठ नेताको हैसियतमा एमालेको स्थायी कमिटी बैठकमा समेत सहभागी भएकी छन्।
वि.सं. २०७२ कात्तिकमा मुलुकको सर्वोच्च संवैधानिक पद राष्ट्रपतिमा निर्वाचित भएपछि उनले एमालेको तत्कालीन उपाध्यक्ष पद र पार्टी सदस्यता दुवैबाट राजीनामा दिएकी थिइन्। दुई कार्यकाल सफलतापूर्वक राष्ट्रपतिको जिम्मेवारी पूरा गरेर बाहिरिएकी भण्डारीको राजनीतिक पुनरागमनलाई लिएर लामो समयदेखि बहस र तीव्र राजनीतिक अडकलबाजी चल्दै आएको थियो।
अन्ततः एमाले केन्द्रीय कमिटीको बैठकले विधानको बाधा अड्काउ फुकाउने धारा प्रयोग गर्दै उनलाई वरिष्ठ नेताका रूपमा स्वीकार गर्ने निर्णय अनुमोदन गरेपछि यो ‘कमब्याक’ सम्भव भएको हो।
लामो समयपछि एमाले मुख्यालयमा फर्किएकी वरिष्ठ नेता भण्डारीले आफू कुनै व्यक्तिगत महत्त्वाकांक्षा वा पदको लोभले भन्दा पनि पार्टी निर्माण र मुलुकको हितका लागि सक्रिय भएको स्पष्ट पारेकी छन्।
राजनीतिक विश्लेषकहरूले भने दुई–दुई पटक राष्ट्रप्रमुख भइसकेको व्यक्तित्व फेरि दलको सक्रिय राजनीतिमा फर्किँदा यसले आगामी राष्ट्रिय राजनीति र एमालेभित्रको आन्तरिक शक्ति सन्तुलनमा ठूलो र दूरगामी प्रभाव पार्ने आँकलन गरेका छन्।


प्रतिक्रिया दिनुहोस्