काठमाडौँ – चिकित्सा व्यवसायी एवं सामाजिक अभियन्ता दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ। यसअघि ‘जय नेपाल पार्टी’ गठन गर्ने प्रयास असफल भएपछि प्रसाईंले आफ्नै नेतृत्वमा छुट्टै राजनीतिक संगठन निर्वाचन आयोगमा २२५ नम्बरमा आधिकारिक रूपमा दर्ता गराएका हुन्। साविकको नागरिक बचाउ दलको नाम संशोधन गरेर बनाइएको यस नयाँ पार्टीको चुनाव चिह्न ‘परिवारसहितको घर’ तय गरिएको छ।
पार्टीको सांगठनिक संरचनालाई पूर्णता दिँदै ३५१ सदस्यीय विशाल केन्द्रीय समिति निर्माण गरिएको छ। यो नयाँ राजनीतिक शक्तिले आफूलाई देशका आम नागरिक, उद्योगी-व्यवसायी, युवा, श्रमिक र पूर्वराष्ट्रसेवकहरूको साझा मञ्चका रूपमा प्रस्तुत गरेको छ। पार्टीले विशेष गरी वैदिक सनातन हिन्दु राष्ट्रको पुनःस्थापना र राष्ट्रवादी धारको नेतृत्व गर्ने मुख्य एजेण्डा बोकेको छ।
निर्वाचन आयोगमा कानुनी प्रक्रिया पूरा गरेसँगै पार्टीले जनस्तरमा आफ्नो प्रभाव विस्तार गर्ने तयारी थालेको छ। यसै सिलसिलामा आगामी मंसिर ७ गते झापाको दमकमा एक विशेष समारोह आयोजना गरी पार्टीको औपचारिक घोषणा तथा आगामी कार्यदिशा सार्वजनिक गरिने प्रसाईंको सचिवालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्