काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेल शेयर खरिद बिक्री प्रकरणमा आफ्नो र छोरीको नाम जोड्नु वर्तमान राजनीतिक प्रणाली, संविधान र गणतन्त्रविरुद्धको हमला भएको बताएका छन्।
मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले एनसेल शेयर खरिद बिक्री प्रकरणमा आफू र छोरीको नाम जोड्नु राजनीतिक प्रणाली, संविधान र गणतन्त्रविरुद्धको हमला भएको बताएका हुन्।
उनले कतिपय मानिसहरु आफूलाई ‘ह्युमुलेट’ र ‘डिप्रेस’ नगरेसम्म व्यवस्था उल्टिँदैन भनेर त्यही ढंगले लागेका जिकिर गरे। उनले एनसेल प्रकरणमा आफ्नो परिवारमाथि लगाइएको आरोप झुठो भएको बताए। उनले लगाइएको आरोपहरु सावित नहुने पनि बताए।
उनले भने, ‘…अब मेरो परिवारका सदस्य घट्दै गएर ३ जना भएका छौँ। त्योमध्ये एउटा भरतपुर महानगरपालिकाको मेयर छ, ऊ उतै बढी व्यस्त हुन्छ। एउटा छोरी छ, विचरा त्यो कस्ती छ, तपाईहरुले थाहा पाउनुभएकै छ। उसलाई जोडेर बनाएको छ, उचालेको छ। म के ठान्छु भने यो वास्तवमा संविधान, प्रणाली, गणतन्त्र, लोकतन्त्रविरुद्धको हमला हो। म स्पष्ट छु त्यसमा। किनकि प्रचण्डलाई नराम्रोसँग ह्युमुलेट नगरेसम्म र डिप्रेस नबनाएसम्म यो उल्टिने भएन भन्ने छ नि त एकथरीलाई।’
प्रधानमन्त्री प्रचण्डले एनसेलको शेयर खरिद, बिक्री गर्नेहरुलाई आफूले चिनेको भए पनि कानून, संविधान र प्रणालीको विरुद्धमा गए नछोड्ने बताए। चिनेजानेको नाताले अनुहार हेरेर नबस्ने उनको भनाइ थियो।


प्रतिक्रिया दिनुहोस्