बलिवुड अभिनेता टाइगर श्राफको गाडीमा पाँच राउन्ड गोली प्रहार, चालक र एक बटुवा घाइते

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ कार्तिक २०८३, आईतवार
1 Min Read
Aa

काठमाडौँ – बलिवुड अभिनेता टाइगर श्राफ सवार गाडीलाई लक्षित गरी मुम्बईको जुहू क्षेत्रमा अन्धाधुन्ध गोली प्रहार भएको छ। आइतबार साँझ जुहूको पुष्पा पार्क नजिकै भएको यस आक्रमणमा अभिनेता श्राफ भने पूर्ण रूपमा सुरक्षित रहेका छन्। तर, प्रहार गरिएको गोली लागेर उनका चालक फिरदौस र नजिकै रहेका एक बटुवा घाइते भएका छन्।

मुम्बई प्रहरीका अनुसार ३६ वर्षीय अभिनेता श्राफ स्थानीय मैदानमा फुटबल खेलेर आफ्नो विलासी बीएमडब्लू गाडीमा घर फर्कन लाग्दा भीडभाडको फाइदा उठाउँदै मोटरसाइकलमा आएका तीन जना अज्ञात बन्दुकधारीले गाडीमाथि ५ राउन्ड गोली चलाएका थिए। गोली लागेर घाइते भएका चालक फिरदौसलाई तत्कालै उपचारका लागि जुहूस्थित नानावती अस्पताल भर्ना गरिएको छ।

- Advertisement -
Ad image

घटनाको केही समयपछि सामाजिक सञ्जालमा लरेन्स बिश्नोई समूहका तर्फबाट अनिल पण्डित र हरमन सन्धुले यस आक्रमणको जिम्मेवारी लिएको पोस्ट सार्वजनिक भएको छ। उक्त पोस्टमा अभिनेता सलमान खानसँग काम गर्ने बलिवुडका कलाकारहरूलाई निसाना बनाइने चेतावनी दिइएको छ। यद्यपि, प्रहरीले यस दाबीको आधिकारिक र स्वतन्त्र पुष्टि गरिसकेको छैन।

मुम्बई प्रहरीका डेपुटी कमिश्नर मोहित गार्गका अनुसार घटनास्थललाई नियन्त्रणमा लिएर आक्रमणकारीको पहिचान र पक्राउका लागि १५ वटा विशेष टोली परिचालन गरिएको छ। प्रहरीले उक्त क्षेत्रका सीसीटीभी फुटेजहरू सङ्कलन गरी सुक्ष्म अनुसन्धान अघि बढाएको छ। घटनालगत्तै टाइगरका पिता एवं वरिष्ठ अभिनेता ज्याकी श्राफको टोलीले टाइगर पूर्ण रूपमा सकुशल रहेको जानकारी दिएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्