काठमाडौं – नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका नौ वाम घटकबीच आज पार्टी एकता घोषणा हुँदैछ। काठमाडौँको भृकुटीमण्डपमा एकता घोषणा सभा राखिएको छ।
एकतापछि बन्ने एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ हुने र चुनाव चिह्न पाँच कुने तारा राख्ने सहमति भएको छ। एकता प्रक्रियामा सहभागी हुने वाम घटकहरूबीच अबको ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने सहमति भएको छ।
एकतापछि पार्टीको संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) र सहसंयोजक माधवकुमार नेपाल रहने सहमती छ। पार्टीको मार्गदर्शक सिद्धान्त भने मार्क्सवाद, लेलिनवाद हुने सहमती छ। याे एकता प्रक्रियामा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), जनसमाजवादी पार्टी, नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माओवादी समाजवादी) र नेकपा (साम्यवादी)सहितका समूह सहभागी हुन लागेका हुन्।
याे एकतासम्बन्धी निर्णयलाई माओवादी केन्द्रको मंगलबार बसेको महाधिवेशन आयोजक समितिको बैठकले अनुमोदन गरेको छ। एकता घोषण सभाअघि भृकुटीमण्डप क्षेत्रमा जनप्रदर्शन गर्ने तयारी छ।
गएको आईतबार पार्टी एकतासम्बन्धी सहमति पत्रमा माओवादी, एकीकृत समाजवादीसहितका आठ बाम घटकले हस्ताक्षर गरेका थिए। त्यसलगत्तै गोपाल किराँती नेतृत्वको देशभक्त समाजवादी मोर्चाले पनि एकता प्रक्रियामा सहभागी हुने निर्णय गरेको छ।


प्रतिक्रिया दिनुहोस्