काठमाडौँ – महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्न नपाएपछि कांग्रेस महामन्त्री गगन थापाले केन्द्रीय कार्यसमितिको बिहीबारको बैठक नै बहिष्कार गरेका छन् । बैठक सुरु हुनुअघि कार्यतालिकाको विषयमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माको अनौपचारिक कुराकानी भएको थियो ।
बैठकमा कार्यतालिका प्रस्तुत गर्ने तयारीका साथ थापा १ बजे अगाडि नै सानेपा पुगेका थिए । कार्यवाहक सभापतिको कार्यकक्षमा तीन पदाधिकारीबीच भएको छलफलमा खड्काले आफ्नो समूहको अप्ठ्यारो सुनाउँदै एकदिनका लागि पर्खन आग्रह गरेपछि थापा झोक्किँदै सानेपाबाट बाहिरएको एक केन्द्रीय सदस्यले बताए ।
त्यसअघि महामन्त्री शर्माले नियमित र विशेष महाधिवेशन गर्ने विभिन्न विकल्पबारे चार बुँदाको प्रस्ताव सार्वजनिक गरेका थिए । त्यसै सेरोफेरोमा रहेर कार्यतालिका ल्याउने तयारी थापाको थियो । कार्यवाहक सभापति खड्कासँग बुधबार सकारात्मक कुराकानी भएको आधारमा थापा अघि बढेका थिए ।
कांग्रेस बैठकमा महामन्त्रीले प्रस्तुत गर्ने एजेन्डा सभापतिको सहमतिमा मात्रै प्रस्तुत गर्ने चलन छ । यसअघि पनि थापाले महाधिवेशनका दुई विकल्प केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा प्रस्तुत गरेका थिए ।
केन्द्रीय कार्यसमितिमा प्रस्तावका लागि लैजान कार्यसम्पादन समितिमा प्रस्तुत थापाका विकल्प संस्थापन पक्षले अस्वीकार गरेको थियो । त्यसपछि उनले सार्वजनिक गरेका थिए । कांग्रेसमा महाधिवेशन कहिले गर्ने भन्ने विषयमा संस्थापन र ईतर पक्षबीच तिब्र मतभेदछ छ ।


प्रतिक्रिया दिनुहोस्