प्रधानमन्त्री सुशीला कार्की बनाउने सहमति: संसद् विघटनको विषय टुंगो लागेन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ भाद्र २०८२, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – अन्तरिम सरकारको प्रधानमन्त्री पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई बनाउने सहमति जुटे पनि संसद् विघटन गर्नुपर्ने जेनजी प्रतिनिधिहरूले राखेको मागको विषय टुंगो लाग्न बाँकी छ।

राष्ट्रपतिको कार्यालय शीतल निवासमा बिहीबार राति साढे १० बजेदेखि झन्डै साढे ४ घण्टा अर्थात् आज शुक्रबार बिहान साढे ३ बजेसम्म भएको वार्तामा प्रधानमन्त्री पूर्वप्रधानन्यायाधीश कार्कीलाई बनाउने सहमति भएको हो।

- Advertisement -
Ad imageAd image

तर संसद् विघटन गर्ने कि नगर्ने भन्ने विषयमा राष्ट्रपति रामचन्द्र पौडेल निष्कर्षमा पुग्न सकेनन्। यसका लागि अहिले बिहान ९ बजे पुन: वार्ता गरिने भएको छ। कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति पनि जेनजीकै प्रस्तावअनुसार भएको हो। शीतल निवासमा विभिन्न चरणमा विभिन्न पक्षसँगको छलफल र परामर्शपछि राष्ट्रपति पौडेल कार्कीलाई प्रधानमन्त्री बनाउने निष्कर्षमा पुगेका हुन्।

कार्कीलाई अन्तरिम सरकारको नेतृत्व प्रदान गर्न जेनजी प्रतिनिधि, जेनजीसँग निकट देखिएका काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन), नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलबीच पनि समझदारी बनेको हो।

तर संसद् विघटन गरिनुपर्ने जेनजीहरूको मागमा भने राष्ट्रपतिले निर्णय दिन नसकेकाले आज पुन: वार्ता गर्न लागिएको हो। छलफलमा संसद् रहेकै अवस्थामा गैरसांसद कार्कीलाई प्रधानमन्त्री बनाउने बाटो संविधानले नदिएको तर्क गरिएकाले निष्कर्षमा पुग्न कठिन भएको हो।

तथापि राष्ट्रपति पौडेलले संविधानको धारा ६१ (४) अन्तर्गत ‘बाधा अड्काउ फुकाऊ’ प्रावधान प्रयोग गर्न सकिने विषयमा संविधानविद्‌हरूसँग परामर्श गरेका छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्