काठमाडौ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले सरकारले नेपाल शिक्षक महासंघसँग गरेका सहमतिलाई अक्षरशः कार्यान्वयन गर्दै यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्न जोडदार माग गर्दै ऐनको अभावमा समग्र शैक्षिक क्षेत्र नै अनिर्णयको बन्दी बनेको र यसले लाखौँ विद्यार्थीको भविष्यमाथि खेलबाड भइरहेको उल्लेख गरे।
‘गुणस्तरीय शिक्षाका लागि महाअभियान’ तथा ‘जीवनलाई स्वागत, लागुऔषधलाई निषेध’ (YES TO LIFE, NO TO DRUGS) भन्ने मूल नारासहित नेपाल सामुदायिक विद्यालय कर्मचारी संघले काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको ‘राष्ट्रव्यापी शैक्षिक साङ्गीतिक यात्रा २०८२’ को शुभारम्भ समारोहलाई सम्बोधन गर्दै महरले उक्त माग गरेका हुन्। “सरकारले शिक्षक महासंघसँग सम्झौताको मसी सुक्न नपाउँदै त्यसबाट पछि हट्न खोज्नु दुर्भाग्यपूर्ण र शैक्षिक क्षेत्रप्रतिको गैरजिम्मेवारपन हो। अब कुनै बहानाबाजी स्वीकार्य छैन, सहमतिबमोजिमको ऐन तत्काल जारी गुणस्तरीय शिक्षा र लागुऔषधमुक्त समाज निर्माणको अभियानमा सबैलाई एकजुट हुन आह्वान गरे। विद्यालय कर्मचारीहरूको योगदानको प्रशंसा गर्दै उनीहरूको पेसागत सुरक्षा र सम्मानका लागि पार्टीले सधैँ आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे।
नेपाल सामुदायिक विद्यालय कर्मचारी संघले आयोजना गरेको यो राष्ट्रव्यापी अभियानले एकातिर संगीत र कलाको माध्यमबाट विद्यार्थीहरूलाई लागुऔषध दुर्व्यसनविरुद्ध सचेत गराउने र अर्कोतिर नीतिगत तहमा शैक्षिक सुधारका लागि दबाब सिर्जना गर्ने दोहोरो उद्देश्य बोकेको छ।
संघका अध्यक्षले आफ्नो मन्तव्यमा विद्यालय कर्मचारीहरूलाई शिक्षा ऐनले लामो समयदेखि बेवास्ता गरेको गुनासो गर्दै प्रस्तावित ऐनमा आफ्ना मागहरू सम्बोधन नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिए। “हामी विद्यालयका मेरुदण्ड हौँ, तर हामीलाई नै ऐनले नचिन्दा हाम्रो भविष्य अन्धकार भएको छ। शिक्षक र कर्मचारीका माग सम्बोधन नभएसम्म गुणस्तरीय शिक्षा केवल नारामा सीमित हुन्छ।” उनको भनाई छ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षाविद्, शिक्षक, कर्मचारी र विद्यार्थीहरूको बाक्लो उपस्थिति थियो। काठमाडौंबाट सुरु भएको यो साङ्गीतिक यात्राले देशका प्रमुख सहरहरूमा पुगेर शैक्षिक बहस र सचेतना कार्यक्रमहरू गर्ने आयोजकले जनाएको छ। यो यात्राले नीति निर्माण तहलाई आवश्यक ऐन जारी गर्न दबाब दिने र समाजमा चेतनाको दियो बाल्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया दिनुहोस्