सूर्यनाथ योगी
हामी कर्णाली प्रदेशको विकास यात्राका महत्वपूर्ण पाइलाहरुको पुनरावलोकन गर्दै आगामी यात्राको दिशा निर्देशन गरिरहेका छौँ । संघीयताको कार्यान्वयनसँगै कर्णाली प्रदेशले पहिलो पञ्चवर्षीय योजनालाई सफलतापूर्वक सम्पन्न भएको छ । यी योजना नेपालको संविधानले निर्देशित दिगो, समावेशी र न्यायसंगत विकासकासिद्धान्तअनुरूप तय गरिएको थियो । “समृद्ध कर्णालीः सुखारी कर्णालीवासी’’ भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै पहिलो पञ्चवर्षीय योजना (२०७६÷०७७–२०८०÷०८१) ले संरचनागत रुपान्तरणको जग बसाउने प्रयास भयो ।
तर, विकासको बाटो त्यति सहज नभएता पनि संघीयताको कार्यान्वयनसँगै देखिएका अवसर र चुनौतीहरूबीच हामीले पहिलो योजनाबाट महत्वपूर्ण उपलब्धीहरू हासिल गरेका छौँ । केही लक्ष्यहरू पुनरावलोकन गर्नुपर्ने पनि देखिएको छ । र आगामी योजनालाई अझ समयानुकुल र व्यावहारिक रूपमा आवश्यकता अनुसार अगाडि बढाउन कोशिस गरिएको छ ।
पहिलो पञ्चवर्षीय योजनाले भौतिक पूर्वाधार, सामाजिक विकास, पर्यटन प्रवद्र्धन, उद्योग र उत्पादन वृद्धि, सुशासन र सेवा प्रवाह सुधारलाई प्राथमिकतामा राखिएको थियो । तर, बहुआयामिक गरीबी, भौगोलिक कठिनाइ, संरचनागत सीमितता, मानव संशाधन र वित्तीय स्रोतको अभाव जस्ता कारणले गर्दा धेरै सूचकहरूमा लक्ष्यअनुसारको प्रगति गर्न सकिएन । तथापि, केही महत्त्वपूर्ण प्रगतिहरू हासिल भएका छन् ।
—आर्थिक वृद्धिदरः ३.३२ प्रतिशत रहेको
—प्रतिव्यक्ति आयः १,०६६ अमेरिकी डलर पुगेको
—खानेपानी पहुँचः ८८ प्रतिशत परिवारमा पुगेको
—बहुआयामिक गरिबी दरः ५१.२ प्रतिशतबाट ३९.५ प्रतिशतमा झरेको
—निरपेक्ष गरीबी दर: २८.९ प्रतिशतबाट २६.६९ प्रतिशतमा झरेको
—सिचाइँ सुविधा उपलब्ध क्षेत्रफलः लक्ष्य १५.५ प्रतिशत भए पनि २७ प्रतिशतमा वृद्धि
—साक्षरतादरः ६६ प्रतिशतबाट ७६.१ प्रतिशत पुगेको
—आधारभूत स्वास्थ्य सेवा पहुँचः ४३.१ प्रतिशत
—सामाजिक सुरक्षा आबद्धताः ६०.४ प्रतिशत जनसंख्या
यद्यपि, विद्युत् उत्पादनमा निर्धारित लक्ष्य पूरा गर्न कठिनाइ भयो र यातायात पूर्वाधार विस्तार भए पनि केही स्थानीय तह राष्ट्रिय सडक सञ्जालमा जोडिन चाँकी नै छन् ।
दोस्रो पञ्चवर्षीय योजना (२०८१÷०८२–२०८५÷०८६) समृद्ध भविष्यको आधार
पहिलो योजनाका सिकाइहरूलाई आत्मसात गर्दै दोस्रो पञ्चवर्षीय योजनाले कर्णालीलाई आत्मनिर्भर, हरित अर्थतन्त्रको अभ्यास, उत्पादनमूलक, पर्यटन विकास र रोजगारमुखी बनाउन केन्द्रित गर्नेछ । यस योजनाले निम्न पाँच प्राथमिकताका क्षेत्रहरु निर्धारण गरी नीति तथा कार्यक्रम अगाडिमा ल्याइएको छ ।
१. पूर्वाधार तथा अन्तर–आवद्धताः सडक, पुल, संचार, यातायात र ऊर्जा लगायतका पूर्वाधारको विकास
२. नवप्रवर्तन, उत्पादन र रोजगारीः कृषि तथा पशुपंछीमा व्यवसायीकरण, विविधिकरण, आधुनिकीकरण, उद्यमशीलता प्रवर्धन, रोजगारी सिर्जना
३. उद्योग, पर्यटन, वन तथा वातावरणः प्रदेशको तुलनात्मक लाभमा आधारित उत्पादन वृद्धि
४. मानव पुँजी तथा सामाजिक विकासः गुणस्तरीय स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षाको विस्तार
५. डिजिटल कर्णाली तथा सुशासनः प्रविधि नवप्रवर्तन, विद्युतीय सुशासन र पारदर्शिता प्रवर्धन, दोस्रो पञ्चवर्षीय योजना केवल भौतिक पूर्वाधार विस्तारमा केन्द्रित नभई यसले कर्णालीलाई आत्मनिर्भर अर्थतन्त्रतर्फ अग्रसर गराउने छ । रणनीति र प्राथमिकता कर्णालीको दीर्घकालीन सोच “समृद्ध कर्णालीः सुखारी कर्णालीवासी’’ पहिलो पञ्चवर्षीय योजनादेखि नै हाम्रो मार्गदर्शक सोच बनेको छ ।
यस योजनाले पहिलो योजनाका सिकाइलाई आत्मसात गर्दै, उत्पादन वृद्धिदेखि रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य, पूर्वाधार विस्तार तथा सामाजिक न्यायलाई प्राथमिकतामा राखिएको छ । नेपालको दीर्घकालीन सोच “समृद्ध नेपालःसुखी नेपाली’’, प्रदेशको दीर्घकालीन सोच “समृद्ध कर्णालीः सुखारी कर्णालीवासी’ र सोह्रौं योजनाको सोचलाई समेत दृष्टिगत गरी दोस्रो पञ्चवर्षीय आवधिक योजनाको सोचमा सुशासन, सामाजिक न्याय र समृद्ध कर्णाली राखिएको छ ।
कर्णाली प्रदेशको विकासका लागि यहाँको अनुपम प्राकृतिक सम्पदा, सांस्कृतिक वैभव, विविधतायुक्त हावापानी, जैविक विविधता, जलस्रोत, पर्यटन सम्भावना तथा मौलिक भाषा, संस्कृति, कला, साहित्य र सम्पदालाई संरक्षण, सम्वद्र्धन र उपयोग गर्ने नीति तयार गरिएको छ । यस्ता कार्यक्रमहरु सम्पदान गर्नका लागि थुप्रै चुनौतीहरू भएता पनि यसलाई सम्पादन गर्न उपयुक्त रणनीतिहरु पनि तय गरिएको छ । यस योजनाले
तुलनात्मक लाभमा आधारित उत्पादनमूलक अर्थतन्त्रको विकास, गुणस्तरीय मानव पुँजी निर्माण, व्यावसायिक शिक्षाको प्रवर्धन, स्वास्थ्य सेवामा पहुँचको विस्तार, उत्तर– दक्षिण करिडोरको स्तरोन्नति, रोजगारी सिर्जना तथा नवप्रवर्तन, प्रविधि र हरित अर्थतन्त्रलाई प्रवर्धन गर्ने नीति अवलम्बन गरेको छ ।
हामीले विकासका रणनीति तथा प्राथमिकताहरू तय गर्दा दिगो विकास लक्ष्यको सूचाङ्कहरु लाई पुरा गर्न, जलवायु परिवर्तनका असर न्यूनीकरण, विपद् व्यवस्थापन तथा सामाजिक न्यायलाई समेत विशेष ध्यान दिएका छौँ । डिजिटल कर्णाली अभियान, उद्यमशीलता प्रवर्धन, ऊर्जा तथा पूर्वाधार विकास तथा सार्वजनिक सेवा प्रवाह सुधार्ने पहलहरू यस योजनाले समेटेको छ ।
दोस्रो आवधिक योजनाले लिएको लक्ष्य र तोकेको प्राथमिकतालाई पुरा गर्न कर्णाली उत्सव जस्ता कार्यक्रम र कुडा कर्णालीबाट पनि सहयोग पुग्दछ भन्ने मलाई लाग्छ । यसले पुरा गरेको पाँचौ संस्करण सम्मको योगदान पनि यसको महत्व र औचित्यलाई पुष्टि गरेको छ । यस विशेष अवसरमा, म सम्पूर्ण नीति निर्माता, स्थानीय तह, विकास साझेदार, नागरिक समाज, निजी क्षेत्र तथा सम्बन्धति सरोकारवालाहरुलाई आह्वान गर्न चाहन्छु कि हामी सबै मिलेर कर्णालीको समृद्ध भविष्य सुनिश्चित गर्न सामूहिक प्रयास गरौं ।
हाम्रो लक्ष्य स्पष्ट छ नवप्रवर्तन, प्रविधि तथा मानवपुँजी प्रवर्धन, उत्पादनशील र रोजगारमूलक अर्थतन्त्र निर्माण, सामाजिक न्याय र सुशासन मार्फत समाजवाद उन्मुख समुन्नत कर्णाली निर्माण गर्ने । यस यात्रामा सबैको साथ, सहयोग, तथा प्रतिवद्धता आवश्यक छ। कर्णाली नीति उत्सव अवसर मात्र होइन, नयाँ संकल्पको चलो हो । यस कर्णाली उत्सव कुडा कर्णालीका कार्यक्रमको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दै हामी सबै मिलेर कर्णालीलाई नेपालकै समृद्ध, न्यायपूर्णर विकसित प्रदेश बनाउने दिशामा अगाडि बढौं ।
कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष सुर्यनाथ योगीले सुर्खेतमा आजदेखि सुरु कर्णाली उत्सवमा व्यक्त गरेको विचार


प्रतिक्रिया दिनुहोस्