काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगन थापासहित तीन जनाको उम्मेदवारी दर्ता भएको छ। नयाँ नेतृत्व चयनका लागि मंगलबार मनोनयन दर्ता सकिँदा सभापतिमा थापासँगै श्यामकृष्ण खड्की र किशोरसिंह राठौरले प्रतिस्पर्धा गर्ने निश्चित भएको निर्वाचन समितिले जनाएको छ।
मनोनयन प्रक्रियामा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला उपसभापति पदमा पुष्पा भुसालको एकल उम्मेदवारी परेपछि उनीहरू निर्विरोध निर्वाचित भएका छन्। अन्य पदाधिकारी पदहरूमा भने कडा प्रतिस्पर्धा हुने देखिएको छ।
खुला तर्फको उपसभापति पदका लागि ९ जनाले मनोनयन दर्ता गराएका छन्, जसमा डा. चन्द्र भण्डारी, देवराज चालिसे, सुरेन्द्रराज पाण्डे, मधु आचार्य, डा. मिनेन्द्र रिजाल, दीपक गिरी, धनराज गुरुङ, गोविन्द भट्टराई र डा. चन्द्रमोहन यादव रहेका छन्। त्यस्तै, समावेशी उपसभापतिमा जीवन परियार, विनोद चौधरी, फर्मुल्लाहा मनसुर, सीता गुरुङ र रन्जित कर्णसहित ५ जनाको उम्मेदवारी परेको छ।
महामन्त्री खुला तर्फ प्रदीप पौडेल, गुरुराज घिमिरे, उदय शमशेर राणा, अमरसिंह पुन, नैनसिंह महर, शंकर तिवारी, डा. सुनिल शर्मा र डा. सन्तोष उपाध्यायसहित ८ जना चुनावी मैदानमा उत्रिएका छन्। महिला महामन्त्रीका लागि डा. डिला संग्रौला, डिना उपाध्याय र रिता खनाल गरी ३ जनाबीच प्रतिस्पर्धा हुने भएको ।
निर्वाचन समितिका अनुसार महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आगामी बिहीबार, असोज २२ गते मतदान हुने कार्यतालिका रहेको छ।


प्रतिक्रिया दिनुहोस्