काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि काठमान्डु गुर्खाजले आफ्नो आधिकारिक जर्सी सार्वजनिक गरेको छ । आईतबार होटल याक एन्ड यतिमा भएको भव्य कार्यक्रमका बीच काठमान्डु गुर्खाजको जर्सी र टिभिसी सार्वजनिक गरिएको हो ।
काठमाडौं स्पोर्ट्स डेभलपमेण्ट भेन्चरको स्वामित्वमा रहेको काठमान्डु गुर्खाजकी को-फाउन्डर श्रृंखला खतिवडा र क्रिकेट एम्बासडर इन्दु बर्माको उपस्थितिमा करण केसीले जर्सी सार्वजनिक गरेका हुन् ।
काठमाडौंको जर्सीमा मुख्य रङ कालो रहेको छ भने त्यसमा पहेँलो स्याडो प्रयोग भएको छ । जर्सी नम्बर सेतो रङको छ । कार्यक्रममा खेलाडीहरुलाई पञ्चेबाजासहित स्वागत गरिएको थियो भने कार्यक्रममा कलाकारहरुबाट सांस्कृतिक प्रस्तुति पनि दिइएको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष उपेन्द्र महतोले आफ्नो टोली काठमाडौंले ट्रफी जित्नेमा आशावादी रहेको बताए । त्यस्तै खेलाडीहरुले पनि देशकै शिर उच्च हुने गरी प्रदर्शन गर्नेमा आफू विश्वस्त रहेको बताए । कार्यक्रममार्फत नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान इन्दु बर्मालाई क्रिकेट एम्बासडरको रुपमा घोषणा गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्