काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को पहिलो क्वालिफायर खेलमा आज साँझ ५:०० बजे साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदै छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यस खेलको विजेता टोलीले सोझै प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गर्नेछ ।
लिग चरणको प्रदर्शनका आधारमा शीर्ष दुई स्थानमा रहँदै यी टोलीले क्वालिफायरमा स्थान बनाएका हुन् । लुम्बिनी ७ खेलमा ५ जित, १ हार र १ बराबरी (वर्षाका कारण रद्द) सहित ११ अंक जोडेर शीर्ष स्थानमा रह्यो भने सुदूरपश्चिम ५ जित र २ हारसहित १० अंकका साथ दोस्रो स्थानमा रहेर क्वालिफायरमा आइपुगेको हो ।
इतिहास र वर्तमान लय
एनपीएल इतिहासमा यी दुई टोलीबीच भएका ४ खेलमा दुवैले २–२ जित निकालेका छन् । यद्यपि, पछिल्ला दुई भेट (गत सिजनको फाइनल र यस सिजनको उद्घाटन खेल) मा लुम्बिनीले सुदूरपश्चिमलाई १०० रनभित्रै अलआउट गर्दै एकतर्फी जित निकालेको थियो । तसर्थ, सुदूरपश्चिमसामु अघिल्ला हारको बदला लिने चुनौती छ भने लुम्बिनी आफ्नो अपराजित लय र मनोवैज्ञानिक दबाब कायम राख्ने दाउमा छ ।
प्रमुख खेलाडीहरू
लुम्बिनीको ब्याटिङमा ओपनर डार्सी सर्ट (६ खेलमा १४८ रन) र कप्तान रोहित पौडेल मुख्य हतियार हुन् । बलिङतर्फ शेर मल्ल (९ विकेट) र किशोर महतो (८ विकेट) उत्कृष्ट लयमा छन् ।
अर्कोतर्फ, सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी (७ खेलमा १५० रन) ब्याटिङ र अलराउन्ड प्रदर्शनमा टोलीका मुख्य खम्बा हुन् । बलिङमा अनिल खरेल (१० विकेट) र स्कट कुगेलाइन (९ विकेट) विपक्षी ब्याटरका लागि घातक साबित भएका छन् ।


प्रतिक्रिया दिनुहोस्