एकैपटक आठवटै रङ्गशाला सम्भव नहुने भएपछि चरणबद्ध निर्माणको योजना, यही साताभित्र फ्रेन्चाइजसँग छुट्टाछुट्टै वार्ता हुने
काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) लाई ‘होम एन्ड अवे’ प्रणालीमा सञ्चालन गर्ने सरकारी योजना कार्यान्वयनका लागि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मङ्गलबार आठवटै फ्रेन्चाइज टोलीका लगानीकर्ता तथा प्रतिनिधिहरूसँग छलफल गरेका छन्। सिंहदरबारस्थित मन्त्रालयमा भएको उक्त बैठकमा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्कासमेत सहभागी थिए।
छलफलका क्रममा रङ्गशाला निर्माणको मोडालिटी, सरकार र निजी क्षेत्रको साझेदारी (पीपीपी मोडेल), लिज प्रक्रिया र प्राविधिक मापदण्डका विषयमा विस्तृत विचार–विमर्श भएको छ।
चरणबद्ध रूपमा ‘होम एन्ड अवे’ लागू गरिने
बैठकमा मन्त्री पोखरेलले एकैपटक आठवटै रङ्गशाला निर्माण गर्नुभन्दा यथार्थपरक योजना बनाएर चरणबद्ध रूपमा काम अघि बढाउने स्पष्ट पार्नुभएको छ। सरकारको योजनाअनुसार आगामी चौथो संस्करणदेखि नै २ देखि ३ वटा भेन्युबाट ‘होम एन्ड अवे’ ढाँचाको अभ्यास सुरु गरिनेछ। त्यसलाई विस्तार गर्दै पाँचौँ र छैटौँ सिजनसम्म पुग्दा आठवटै फ्रेन्चाइजका घरेलु मैदानमा खेल सञ्चालन गर्ने लक्ष्य राखिएको छ।
यही साताभित्र छुट्टाछुट्टै बैठक र लिज प्रक्रिया
रङ्गशाला निर्माणका लागि आवश्यक जग्गा र पूर्वाधारको लिज प्रक्रिया अघि बढाउन मन्त्रालयले तत्काल गृहकार्य थाल्ने भएको छ। मन्त्री पोखरेलले यही साताभित्रै सम्बन्धित फ्रेन्चाइज सञ्चालकहरूसँग छुट्टाछुट्टै बसेर उनीहरूको आधारभूत आवश्यकता बुझ्ने र लिज सम्झौताको प्रक्रिया अघि बढाउने जानकारी दिए।
क्यान सचिव खड्काको जोड : मूलपानी र गौतमबुद्ध रङ्गशाला छिटो टुङ्ग्याऔँ
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै क्यान सचिव पारस खड्काले दुई–तीन वर्षमै आठवटै रङ्गशाला तयार पार्न प्राविधिक रूपमा सम्भव नभए पनि कम्तीमा २–३ वटा अन्तर्राष्ट्रिय स्तरका रङ्गशाला निर्माण गर्न सकिने विश्वास व्यक्त गरे।
काठमाडौँ बाहिर अन्तर्राष्ट्रिय क्रिकेट विस्तार गर्न अति आवश्यक रहेको औँल्याउँदै सचिव खड्काले निर्माणाधीन अवस्थामा रहेका मूलपानी र चितवनको गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम छिट्टै टुङ्ग्याउनुपर्नेमा जोड छ।


प्रतिक्रिया दिनुहोस्