देउवा र ओली आधा-आधा कार्यकाल प्रधानमन्त्री बन्ने सहमति, अरू मन्त्रालय कसलाई कति ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ असार २०८१, सोमबार
3 Min Read
Aa

काठमाडौं – गत फागुन २१ मा नाटकीय ढङ्गले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरण बन्ने निश्चितजस्तै भएको छ ।

दुई ठूला पार्टी नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता समीकरण बन्ने भएको हो । सरकारले नक्कली भुटानी शरणार्थी काण्डको फाइल पुनः खोल्न थालेपछि कांग्रेस–एमाले सहकार्यको गृहकार्य सुरु भएको थियो ।

गत शुक्रबार नक्कली शरणार्थी प्रकरणमा राजनीतिको उपल्लो तहको नेक्सस बताउन सक्ने बेचन झा पक्राउ परेका थिए । झा यस्ता व्यक्ति हुन् जसले पूर्वगृहमन्त्री खाँणभन्दा माथिको नेक्सस खुलाउन सक्नेछन् ।

नक्कली शरणार्थी प्रकरणमा यसअघि पनि नाम जोडिएकी आरजु राणा देउवातर्फ शंकाको सुई घुम्ने देखिएको छ । त्यस्तै एमालेका केही नेताहरू पनि उक्त प्रकरणमा तानिने देखिएको छ । सोही प्रकरणमा एमाले उपाध्यक्ष रामबहादुर थापामगर ‘बादल’का छोरी प्रतीक थापा गत शुक्रबार पक्राउ परेका थिए ।

बेचन झा पक्राउ परेपछि सत्तारुढ र विपक्षी दलका नेताहरूको घरदेखि सिंहदरबार र बालुवाटारसम्म शीर्ष नेताहरूको भेटघाट बाक्लियो । शनिबार कांग्रेस सभापति देउवा पत्नी आरजुसहित ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका थिए ।

आफ्ना नेताहरू नक्कली शरणार्थी प्रकरणमा तानिने देखिएपछि कांग्रेस–एमाले सहकार्यको लागि तयार भएको हो । तर, राजनीतिक स्थिरताका लागि संविधान संशोधन, अर्थतन्त्र चलायमान गराउने कार्यक्रमसहित नयाँ समीकरणको गृहकार्य भएको नेताहरू बताउँछन् ।

स्रोतका अनुसार कांग्रेस–एमालेबीच आधा-आधा कार्यकाल प्रधानमन्त्री लिने सहमतिको ‘ड्रफ्ट’ तयार भएको छ । पहिला एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने स्रोतले जानकारी दियो ।

सुरुमा एमालेले प्रधानमन्त्री र अर्थ मन्त्रालयसहित नौ मन्त्रालय लिँदा कांग्रेसले गृहमन्त्रालयसहित १० मन्त्रालय लिने सहमति ड्रफ्टमा रहेकाे स्राेतले जानकारी दियो । अरू तीन मन्त्रालय भने साना दलहरूलाई दिने तयारी छ ।

सानादेखि स्वतन्त्र दलको बार्गेनिङ र दबाबलाई रोक्न र प्रदेशमा सरकार बनाउन कांग्रेस–एमालेले साना दललाई समेट्न लागेको हो । सात प्रदेशमध्ये कांग्रेस र एमालेले ३/३ प्रदेशको लिने सहमति भएको छ भने मधेशमा डा. चन्द्रकान्त (सिके) राउत नेतृत्वकै जनमत पार्टीलाई दिने सहमति भएको स्रोतको दाबी छ ।

कांग्रेस–एमालेको सहकार्यसँगै नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादी पार्टी बाहिरिने भएका छन् ।

पहिलो कार्यकाल एमालेले सरकार बनाउने र २०८४ सालको निर्वाचन गराउने गरी चुनावी सरकारको नेतृत्व कांग्रेसले लिने समझदारी भएको स्रोतको दाबी छ । २०७९ पुस १० मा पनि कांग्रेस र एमाले मिल्ने प्रयास भएको थियो । त्यतिबेला ओलीले देउवालाई बालुवाटार आउँछु भनेर बालकोटमा माओवादी, रास्वपा र राप्रपासहितको गठबन्धन बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array