रास्वपा विवाद: महामन्त्री ढकाल पार्टीबाट निलम्बित, कार्यवाहक महामन्त्रीको जिम्मेवारी बुर्लाकोटीलाई !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ असार २०८१, बिहीबार
2 Min Read
Aa

काठमाडौंं – पार्टी केन्द्रीय कार्यलयमा बुधबारबाट सुरु भएको केन्द्रीय समितिको बैठकबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री एवं प्रवक्ता मुकुल ढकाललाई पदबाट निलम्बन गरेको छ । केन्द्रीय समितिकै बैठकमा अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै महामन्त्री ढकाललाई सात दिनका लागि निलम्बन गरिएको हो यो सँगै कार्यवाहक महामन्त्रीको जिम्मेवारी सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई सुम्पिएको छ ।

केन्द्रीय अनुशासन आयोग प्रमुख भरतमणी देवकोटासँग परामर्श गरेर ढकाललाई सात दिनका लागि निलम्बन गरिएको रास्वपाले जनाएको छ । यसका साथै ढकालको गतिविधिका सम्बन्धमा यथोचित कारबाहीको सिफारिस सहितको प्रतिवेदन केन्द्रीय समितिमा पेश गर्न केन्द्रीय अनुशासन आयोगलाई निर्देशन समेत दिइएको छ ।

बुधबारको केन्द्रीय समिति बैठकमा बोल्न नपाएको भन्दै मुखमा कालो टेप लगाएर बसेका ढकालले आफूलाई ‘ह्यारेसमेन्ट’ गरिएको भन्दै बैठकको बीचबाटै बाहिरिएका थिए । मिडियाकर्मीहरुसँग कुरा गर्दै उनले पार्टी सभापति रवि लामिछानेको कार्यशैलीमाथि प्रश्न उठाएका थिए ।

हिजो गोर्खा मिडियामा भएको गलत कामको दोष जीबी राईलाई लगाएको लामिछानेले अहिले पार्टीमा आफूलाई दोष थुपारेर उम्किन खोजेको ढकालले बताएका थिए । पार्टीको महामन्त्री प्रबन्ध निर्देशक (रवि गोर्खा मिडियामा त्यही पदमा थिए) जस्तै पद भएको भन्दै उनले भने, ‘हिजो जीबी राईको गल्ती, आज महामन्त्रीको गल्ती । मैले चाहिँ कहिल्यै गल्ती गर्दिन भन्ने व्यवहार सभापतिले देखाउनुभएको छ ।’

उनले अगाडि भने, ‘जब उहाँ पत्रकार हुनुहुन्थ्यो तब नेता दोषी, जब नेता हुुनुहुन्थ्यो, तब पत्रकार दोषी, जब उहाँ प्रतिपक्ष हुनुहुन्थ्यो, तब सत्तापक्ष दोषी, जब सत्तापक्ष हुनुहुन्थ्यो, तब प्रतिपक्ष दोषी यो प्रकारको व्यवहार चित्तबुझ्दो भएन ।’

प्रतिक्रिया दिनुहोस्

Array