केन्द्रमा पार्टी विभाजनको झट्का व्यहोरेका उपेन्द्र यादवलाई मधेशमा झन ठूलो झट्का लाग्ने !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ बैशाख २०८१, सोमबार
3 Min Read
Aa

काठमाडौं – सरकारको उपप्रधान एवम् स्वास्थ्यमन्त्रीको जिम्मेवारीमा रहेको र विदेश भ्रमणमा सयर गरेकै बेला जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजन व्यहार्नुपरेको छ । यादव जनसंख्यासम्बन्धी सम्मेलनमा भाग लिनको लागि अमेरिका गएको बेला यता नेपालमा पार्टी विभाजनको गृहकार्य भएको थियो ।

उनी स्वदेश नफर्किँदै अशोक राईसहित ७ सांसदले आज पार्टी विभाजन गरेका छन् । राईलाई उनकी पत्नी सुशिला श्रेष्ठसहित सांसदहरु प्रदीप यादव, नवलकिशोर साहु सुँडी (हालका वनमन्त्री), डा. वीरेन्द्र प्रसाद महतो (निवर्तमान मन्त्री), रञ्जु ठाकुर र हसिना खानले साथ दिएका छन् ।

१२ जना सांसदहरुमध्ये बहुमत ७ जना सांसद पार्टी विभाजनको पक्षमा उभिँदा उपेन्द्रको पक्षमा भने चार जना सांसद उभिएका छन् । उनीसहित ५ जना सांसद जसपा, नेपालमा छन् । उपेन्द्र पक्षले भने महाधिवेशनको मुखमा निर्वाचन हार्ने डर भएपछि पार्टी विभाजन गर्नेहरुले राजनीतिक आत्महत्या गरेको भनेर टिप्पणी गर्न थालेका छन् ।

उपेन्द्र यादवले अहिलेको एमाले माओवादी केन्द्रको गठबन्धन तोड्नेगरि आफूलाई मुभ गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहालसँगको सहमतिमा नै एमाले अध्यक्ष केपी शर्मा ओलीले जसपा विभाजनको लागि अशोक राईलाई तयार पारेको स्रोतको दाबी छ ।

हिजो (शनिबार) मात्रै प्रधानमन्त्री दाहाल, एमाले अध्यक्ष ओली र गृहमन्त्रीसमेत रहेका रास्वपाका सभापति रवि लामिछानेबीच करिब चार घण्टा लामो रणनैतिक राजनीतिक भेटवार्ता भएको थियो । त्यसको भोपिल्टै आज जसपा विभाजन हुनुलाई संयोगमात्रै मान्न सकिँदैन् ।

यादव पक्षले भने पार्टी विभाजनको असर मधेश प्रदेशमा नपर्ने दाबी गरेका छन् । यादव पक्षले मधेश प्रदेशमा १९ जना सांसद नै अध्यक्ष यादवकै पक्षमा रहेको दाबी गरेको छ । तर, नयाँ दल बनाएका केही सांसदहरुले भने एक दर्जन सांसदहरु आफूहरुको पक्षमा खुलिसकेको दाबी गरेका छन् । ती सांसदले मधेशका मुख्यमन्त्रीसमेत रहेका सांसद सरोज यादवसहित १२ जना सांसदहरु नयाँ दलमा आउने दाबी गरेका छन् ।

उता, अशोक राईले पार्टी विभाजन गर्नुको कारण खुलाएका छन् । उनले उपेन्द्र यादवको कार्यशैलीको कारण आफूहरुले पार्टी विभाजन गरेको प्रतिक्रिया दिए । यादवको कार्यशैलीको कारण आफूहरुले विभाजन गरेको र विभाजनको कारण सरकारको स्थायित्वमा कुनै असर नपर्ने राईको प्रतिक्रिया छ । मुख्य त कार्यशैलीको भिन्नता पनि हो ।

जसपा नेपालमा उपेन्द्रजीको कार्यशैलीसँग असहमति र भिन्नताले पनि यो परिस्थिति आएको हो । उनले भने, हामी अस्थिरताको कारक बन्दैनौं । म्यासेज सकारात्मक नै जान्छ । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारलाई आफूहरुको समर्थन यथावत रहेको पनि जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्

Array