राष्ट्रियसभामा माओवादी बन्यो सबैभन्दा ठूलो पार्टी, कोशीमा गठबन्धनभित्रैबाट माओवादीलाई धोका

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ माघ २०८०, बिहीबार
5 Min Read
Aa

काठमाडौँ – नेकपा माओवादी केन्द्र राष्ट्रियसभामा सबैभन्दा ठूलो पार्टी बनेको छ। आज (बिहीबार) १९ सिटका लागि भएको निर्वाचनको मतपरिणाम आएसँगै राष्ट्रियसभामा माओवादी केन्द्र सबैभन्दा ठूलो पार्टी बनेको हो।

एक सिटमा मात्रै एमाले-राप्रपा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। कोशी प्रदेशमा महिलातर्फ एमालेकी रुक्मणि कोइराला विजयी हुँदा माओवादीबाट उम्मेदवार बनेकी गठबन्धनकी चम्पादेवी कार्की पराजित भएकी छिन्। कोइरालाले ५ हजार ८६ मतभार हासिल गर्दा प्रतिस्पर्धी कार्कीले ४ हजार ९ सय ९२ मतभार ल्याएकी छिन्।

गठबन्धनका मतदानमा भएको फ्लोरक्रसले विपक्षी एमालेलाई खाता खोल्ने अवसर दिएको छ। माओवादीको उम्मेदवार पराजित भएसँगै गठबन्धनमा प्रश्न उठ्ने भएको छ। १९ मध्ये १० सिट पाएको कांग्रेसले सबै उम्मेदवारलाई जिताउँदा माओवादीको उम्मेदवार पराजित भएपछि फेरि गठबन्धनमा कांग्रेसको विश्वसनीयतामाथि प्रश्न उठ्नेछ।

९ सय मतभार फरक रहेको अवस्थामा पनि आफ्ना उम्मेदवार पराजित हुनुको कारण अवश्य खोजिने माओवादीका नेता देवेन्द्र पौडेलले बताए। उनले भने, ‘चुनावी परिणाम भर्खरै आएको छ। अहिले नै यसोउसो भन्नु हतारो होला। तर परिणाम किन आएन त भन्ने विषयमा कुरा पक्कै उठ्छ।’ कोशीमा गठबन्धनको मतभार ५५३१ छ भने एमाले राप्रपाको ४६०४ छ।

माओवादीले गठबन्धनबाट ६ सिट पाउँदा एकीकृत समाजवादीले २ र जसपाले १ सिट पाएका छन्। ती सबै सिटमा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। स्थानीय तहका प्रमुख उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र प्रदेशसभाका सदस्यको निर्वाचक मण्डलबाट राष्ट्रियसभा सदस्य चुनिने संवैधानिक व्यवस्था छ। स्थानीय तहका पदाधिकारीको मतभार १९ र प्रदेशसभा सदस्यको ५३ छ।

त्यस्तै अन्य समूहबाट कोशी प्रदेशमा कांग्रेसका कृष्णप्रसाद सिटौला निर्वाचित भएका छन्। प्रदेशसभाको मत गन्दा राप्रपाका उम्मेदवार उद्धव पौडेलभन्दा दुई मतले पछाडि परेका सिटौला स्थानीय तहको मत गणनामा भने उनको पक्षमा देखिएको हो। प्रदेशसभाका ९३ सदस्यमध्ये सिटौलाले ४५ मत पाए भने राप्रपा उम्मेदवार पौडेलले ४७ मत पाए छन्। स्थानीय तहतर्फ सिटौलाले १५३ मत प्राप्त गरे भने राप्रपा उम्मेदवार पौडेलले १०९ मत प्राप्त गरे।

मधेस प्रदेशको दुवै सिटमा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन्। अन्य समूहतर्फ नेपाली कांग्रेसका आनन्द ढुंगाना र जनता समाजवादी पार्टीकी पूजा चौधरी निर्वाचित भएकी हुन्। ढुंगानाले ७ हजार ३७० छ भने उनकी प्रतिद्वन्द्वी नेकपा एमालेकी कुमारी विजेता झाले २ हजार ४८४ मतभार प्राप्त गरेकी छन्।

यस्तै, जनमतका रामशंकर महासेठले पाएको मतभार ८१८ छ। निर्वाचित चौधरीको मतभार ७ हजार ९२३ छ भने उनकी प्रतिद्वन्द्वी नेकपा एमालेकी उषादेवी थरुनीले प्राप्त गरेको मतभार २ हजार ४४६ छ।

बागमती प्रदेशमा चार सिटका लागि भएको चुनावमा निर्वाचित चारै जना गठबन्धनका छन्। कांग्रेसका जीतजंग बस्नेत र विष्णुदेवी पुडासैनी, नेकपा माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी र नेकपा एकीकृत समाजवादीका घनश्याम रिजालले बागमतिबाट चुनाव जितेका छन्।

गण्डकी प्रदेशमा पनि तीनै सिटमा सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन्। अन्य समूहमा कांग्रेसका किरणबाबु श्रेष्ठ, अपांगता÷अल्पसंख्यकतर्फ पदमबहादुर परियार र महिला समूहमा माओवादीकी मनरुपा शर्मा निर्वाचित भएकी छिन्।

लुम्बिनीमा पनि गठबन्धकै उम्मेदवार जिते। माओवादीका झक्कुप्रसाद सुवेदी र कांग्रेसकी विष्णुकुमारी सापकोटा विजयी भएका छन्।

राष्ट्रियसभा निर्वाचनमा कर्णाली प्रदेशबाट पनि सत्ता गठबन्धनका तीनै उम्मेदवारले जित हात पारे। महिलातर्फ नेकपा एकीकृत समाजवादीकी सावित्री मल्लले जितिन् भने दलिततर्फ नेकपा माओवादीका विष्णु विक ‘विकल्प’ले जित हात पारेका छन्। अन्य तर्फ कांग्रेसका कृष्णबहादुर रोकाया निर्वाचित भएका छन्।

सुदूरपश्चिममा पनि तीनै जना गठबन्धनका उम्मेदवारले जिते। महिलातर्फ माओवादीकी रेनु चन्द विजयी भइन्। अपाङ्ग तर्फ कांग्रेसका नारायणदत्त भट्ट र अन्यतर्फ कांग्रेसकै बलदेव बोहरा विजयी भएका छन्।

माओवादी ठूलो दल

गठबन्धनबाट पाएको ६ सिटमध्ये एकमा पराजय भोगे पनि राष्ट्रियसभामा माओवादी केन्द्र १७ सिटसहित पहिलो दल बनेको छ।

बिहीबार माओवादीका ५ जना निर्वाचित भए। राष्ट्रियसभामा अहिले उपाध्यक्षसहित १५ सांसद रहेको माओवादीबाट फागुन २० गते ३ घर जाँदैछन्। तीन जना गएर पाँच जना थपिदा माओवादी १७ सिटसहित ठूलो दल बनेको छ।

अहिले राष्ट्रियसभामा कांग्रेसका १० जना सांसद छन्। फागुन २० मा ४ जना बिदा हुँदैछन्। तर बिहीबार उसले १० जना जिताएर ल्याएको छ। दोस्रो ठूलो दलका कांग्रेसका १६ जना सांसद हुने भएका छन्।

गठबन्धनका कारण विपक्षी एमाले राष्ट्रियसभामा पहिलो दलबाट तेस्रोमा झरेको छ। अहिलेसम्म एमालेका १७ जना सांसद छन्। फागुन २० गते आठ जना बिदा हुँदा बिहीबार एक जना मात्रै थपिका छन्। जसले गर्दा १० सिटसहित एमाले तेस्रो दलमा खुम्चिएको छ।

एकीकृत समाजवादी चौथो ठूलो दलका रुपमा रहेको छ। फागुन २० गते समाजवादीका दुई र स्वतन्त्रबाट जितेर समाजवादीको दाबी गरिएका खिमलाल देवकोटासहित तीन जना बिदा हुँदैछन्।

देवकोटालाई स्वतन्त्रकै हैसियत दिँदा दुई जाँदा समाजवादीका दुई नै आएका छन्। आठ सिटसहित समाजवादी चौथो दलका रुपमा रहेको छ। फागुन २० मा जसपाकी प्रमिलाकुमारी यादव बिदा हुँदा मधेस प्रदेशबाट जसपाकै पुजा चौधरी निर्वाचित भएकी छिन्।

प्रतिक्रिया दिनुहोस्

Array