महिला सशक्तिकरणमा आजको नेपाल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० असार २०८०, बुधबार
9 Min Read
Aa

 


समाजमा रहेका हरेक व्यक्तिहरुलाई जागरुक बनाउनका लागि महिलाहरुलाई जागरुक बनाउन जरुरी छ । किनकी महिला जागरुक हुनु भनेको त्यो समाज जागरण तर्फ लम्किनु हो । समाजको जनसंख्याको आधा हिस्सा आम महिलाले ओगटेको हुन्छ । जनसांख्यिक हिसाबले मात्र होइन, सामाजिक, राजनीतिक, आर्थिक, धार्मिक सबै क्षेत्रको विश्लेषण गर्दा पनि समाजमात्र होइन, कुनै पनि राष्ट्रको जागरणमा आम महिलाको महत्वपूर्ण भूमिका रहेको हुन्छ ।

- Advertisement -
Ad imageAd image

भनिन्छ, मनौवैज्ञानिक रुपमा महिला पुरुषभन्दा निर्णय प्रक्रियामा छिटो सहभागी हुन्छन्, एकपटक महिलाले निर्णय गर्छन र कदम अगाडी सार्छन् भने त्यो परिवार अगाडी बढ्छ, गाँउ, टोल, समाज एवं राष्ट्र विकासको बाटोमा उन्मुख हुन्छ । हाम्रो देशमा महिलाहरुलाई सशक्त बनाउनका लागि उनीहरुलाई अधिकार दिलाउने, समाजमा रहेका विभिन्न कुरितीहरु दाइजो प्रथा, अशिक्षा, यौन हिंसा, असमानता, भ्रुण हत्या, घरेलु हिंसा, बलात्कार, वेश्यावृति, मानव तस्करी लगायतका गलत प्रवृतिहरुलाई नष्ट गर्नु जरुरी छ । जुन राष्ट्रमा लैंगिक भेदभाव रहन्छ त्यहाँ आर्थिक, समाजिक, सांस्कृतिक एवं शैक्षिक भिन्नत हुन्छ, त्यसबाट प्रत्येक नागरिकमा मनोवैज्ञानिक असर परिरहेको हुन्छ, जसले राष्ट्रको समग्र विकासमा प्रत्यक्ष असर पु–याउँछ ।

नेपालको संविधान, २०७२ मा महिला हक अधिकारका विभिन्न प्रावधानहरु उल्लेखित गरिएको छ । स्थानीय तहमा प्रमुख, उपप्रमुख मध्ये एक महिला अनिवार्य हुनुपर्ने , प्रत्येक वडामा एक महिला सदस्य अनिवार्य हुनुपर्ने मात्र होइन, संसदमा ३३ प्रतिशत महिला सांसदको सुनिश्चितता यसका उदाहरणहरु हुन् । राज्यको मुल कानुन संविधानामा नै लिखित यस्ता प्रावधानहरुले महिलाहरुलाई राज्यप्रति अपनत्वको भावना वृद्दि गराउँछ । महिला अधिकार सुनिश्चितता एवं समानताको आधारमा समावेशिताले महिलाहरुलाई सशक्त एवं प्रभावशाली बनाउन मद्घत गर्दछ र यसको प्रभाव समाजमा पर्दछ । समाजमा विद्यमान रहेका विभिन्न प्रकारका कुरितीको अन्त्य गर्दछ । यसबाट पनि महिला जागरणमा समेत सकारात्मक प्रभाव पर्दछ ।

हामीले प्रत्येक परिवारमा बाल्यकाल देखि नै नारी शिक्षाको विकास एवं महिला उत्थान तथा सशक्तिकरणको पाठ सिकाउनु जरुरी छ । एउटा स्वस्थ परिवारको अवधारणाको लागि पनि नारीहरुको महत्वपूर्ण भुमिका रहन्छ । आज पनि हाम्रो समाजमा पिछडिएका, आमा–बुवाको अशिक्षा तथा चेतनाको अभाव, असुरक्षा एवं गरिबीको कारणले सानै उमेरमा विवाह एवं सन्तान जन्माउने कारणहरुले गर्दा पनि महिला हिंसा बढेको पाइन्छ । महिलामाथि हुने दव्र्यवहार, लैंगिक भेदभाव, सामाजिक कुरिती तथा महिला हिंसा आदिको न्युनीकरणका लागि चेतनाको अभिवृद्धि गर्न जरुरी छ । संविधानमा उल्लेखित भए झै देशको सम्पूर्ण क्षेत्रमा महिला सहभागिताको ३३ प्रतिशतको हिस्सेदारी सुनिश्चित गर्न जरुरी छ ।

गाँउ–गाँउमा पुगेर पिछडिएका महिलाहरुलाई सरकारले दिने सुविधाको जानकारी, महिला अधिकारको सम्बन्धमा स्थानीय सरकारसँग साझेदारी गरेर जानकारी दिन आवश्यक छ । यसका साथै महिलामाथिहुने शारिरिक तथा मानसिक दुव्र्यवहार, घरेलु हिंसा आदिको रोकथाम गर्नका लागि महिलामाथि थिचोमिचो गर्ने, दमन गर्नेलाई सामाजिक बहिष्कार गर्न र यस बारेमा सरकारी निकायलाई अवगत गराउन जरुरी छ । यसबाट त्यस्ता प्रवत्तिहरु निरुत्साहित हुन्छन् । यसबाट महिलामा समेत प्रत्यक्ष सकारात्मक प्रभाव पर्दछ । महिलाहरुमा आत्मबलको वृद्धि हुनुका साथै जिम्मेवारीबोध हुन्छ, महिलाहरु आफ्नो स्वास्थ्य, शिक्षा, रोजगारी, परिवार, समाज अनि राष्ट्रप्रति एवं सचेत एवं जिम्मेवार हुन्छन् । उनीहरु हरेक क्षेत्रमा प्रमुखताले भाग लिन्छन्, सक्रिय हुन्छन् तथा आफ्नो रुचि प्रस्तुत गर्दछन् । महिलालाई पनि सम्पूर्ण क्षेत्रमा अवसर र समान व्यवहार गर्ने हो भने देशको विकासमा मद्दत मिल्दछ ।

विकासको क्रममा रहेको यो दक्षिण एसियाली मुलुकमा महिला सशक्तिकरणका लागि केही नभएको पनि होइन, बिस्तारै महिलाहरु राज्यको मूल प्रवाहमा समावेश हुँदैछन् । विशेष गरि राजनीतिक रुपमा महिलाको सहभागीता र समावेशीता विश्वका अन्य मुलुक भन्दा उत्साहजनक रहेको पाइन्छ । राष्ट्रप्रमुख राष्ट्रपति, व्यवस्थापिका संसदको प्रमुख सभामुख अनि न्यायालय प्रमुख सर्वोच्च अदालतको प्रधानन्यायाधीशको पदमा महिलाको प्रतिनिधित्व हुनु आफैंमा गौरव हो । विकासोन्मुख देशमा हासिल भएका यी उपलब्धी हरु मात्र होइन, देशको तथ्यांकले समेत महिला सशक्तिकरण र महिलाको आर्थिक पहुँच विस्तारै वृद्धि भइरहेको देखाउँछ ।

हाम्रो देशमा पुरुषको भन्दा बढी महिलाको जनसंख्या रहेको छ । वि.सं. २०७८ को जनगणना अनुसार, कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ मध्ये महिलाको जनसंख्या १ करोड ४९ लाख ११ हजार २७ रहेको छ । यो भनेको कुल जनसंख्याको करिब ५१.१३ प्रतिशत हो । त्यस्तै, देशमा रहेका परिवारहरु मध्ये ३१. ५५ प्रतिशत परिवारको मूली महिला रहेका छन् । विस्तारै विस्तारै महिलाको साक्षरता दरमा समेत वृद्दि भएको पाइन्छ, महिला साक्षरता दर ६९.४ प्रतिशत रहेको छ । आर्थिक रुपमा सक्रिय जनसंख्यामध्ये ४७.४ प्रतिशत महिलाको संख्या रहेको छ, साना घरेलु व्यवसाय संचालन गर्ने उद्यमीमध्ये महिलाको संख्या ४५ प्रतिशत रहेको छ । वैदेशिक रोजगारीमा समेत नेपाली महिलाको उपस्थिति विस्तारै बढ्दै छ, विदेश गएकाहरु मध्ये महिलाको संख्या मात्रै १७.८ प्रतिशत रहेको छ । जनगणनाको नतिजा अनुसार कुल परिवारको ११.८ प्रतिशत परिवारमा महिलाको नाममा घर र जग्गा दूवै रहेको देखिन्छ ।

तथ्यांकले नेपाली महिलाको आर्थिक पहुँच र उद्यमशीलता क्रमश. बढ्दै गएको भएता पनि, देशका अधिकांश स्थानहरुमा पुराना तथा रुढीवादी विचारधाराका कारणले गर्दा महिलाहरुले घर छोड्न अनि रोजगारी गर्न जान पाएका हुदैनन् । यसबाट महिलाहरुको आर्थिक उपार्जन नहुने मात्र होइन, मनोवैज्ञानिक रुपमा समेत पछि पर्दछन्, आर्थिक सामाजिक रुपमा निरीह बन्दछन्, जसको प्रतिफल स्वरुप महिलाहरुले आफुलाई पुरुषको तुलनामा कमजोर ठान्दछन् र अवसर प्राप्त गर्ने मौका गुमाउँदछन् । जसको प्रभाव राष्ट्रको आर्थिक सामाजिक क्षेत्रमा पर्दछ, यस कारणले राष्ट्रको समग्र आर्थिक तथा समाजिक परिर्वतनको भागीदार महिलाहरु हुन पाउँदैनन् ।

कार्यक्षेत्रमा पुरुष वर्चश्वको कारणले गर्दा होस् वा विभिन्न प्रकारका शोषण एवं उत्पीडनले गर्दा प्रायः जसो नीजि क्षेत्र, सेवा उद्योग, सफ्टवेयर उद्योग, शैक्षिक संस्था तथा अस्पतालहरु, बैंक तथा वित्तिय क्षेत्र, सहकारी क्षेत्रमा ज्यादा शोषण भएको पाइन्छ । समान पदमा रहेका व्यक्तिहरुबीच समेत मनोवैज्ञानिक रुपमा समान हैसियत कायम भएको पाइदैन । लैगिंक भेदभावका कारणले स्वतन्त्र भई काम गर्न पाउने, निर्णय गर्ने लगायत पारिवारिक रुपमा परिवार सम्बन्धी आवश्यक फैसला लिने जस्ता कार्यहरु गर्न छुट पाएको हुदैनन् , निर्णय क्षमताबाट प्रत्यक्ष अप्रत्यक्ष रुपमा बन्चित गरिएको पाइन्छ ।

प्रायः जसो पुरुषको तुलनामा महिलालाई (असंगठित क्षेत्रमा प्रायः) तलब वा ज्याला भुक्तान गर्ने कुरामा समान व्यवहार गरेको पाइन्न, भेदभाव गरिएको हुन्छ । ग्रामीण क्षेत्रमा रहेको छात्राहरुले बीचमा नै पढाई छोड्ने, बाल विवाह गर्ने (सानो छदंै विवाह गरी पठाउने), घरेलु हिंसा, कुटपीट गर्ने जस्ता कारणहरुले गर्दा महिला सशक्तिकरणमा प्रत्यक्ष बाधा उत्पन्न भएको हुन्छ । विभिन्न किसिमका घरेलु हिंसा, दाइजो, अनर किलिङ्ग (सम्मान हत्या), मानव तस्करी, बलात्कार जस्ता गम्भीर अपराधहरुका कारणले गर्दा विभिन्न क्षेत्रमा कार्यरत महिलाहरुले आफू र आफ्नो प्रतिभा प्रस्फुटन गर्न सकिरहेका हुँदैनन् । यतिमात्र होइन, महिलाहरुमा सार्वजनिक यातायातको प्रयोग गर्न अफ्ठ्यारो मान्ने, रातीको समयमा हिडंडुल गर्न नमान्ने, घरभित्र बस्दा पनि आफ्नो सुरक्षाको चिन्ता गर्ने जस्ता समस्याहरु उत्पन्न भएका हुन्छन् । यसबाट महिलाहरुले आफ्नो दैनिकीमा मात्र होइन, कार्यक्षेत्रको दायरामा समेत आफूलाई संकुचित बनाएका हुन्छन् ।

महिलाले आफ्नो प्रजजन हक अधिकारमा समेत समस्या भोगिरहेको पाइन्छ । पछिल्लो समयमा भ्रूण हत्या जस्ता जघन्य अपराधहरु बृद्धि भईरहेको छ । अशिक्षा, गरिबी, बेरोजगारी, लैंगिक समानताको चेतनाको अभाव जस्ता कारणहरुले यस्ता अपराध बढेको पाइन्छ, जसको निदान गर्न आम महिलाको अािर्थक, सामाजिक तथा निर्णय क्षमताको विकास गर्न अपरिहार्य छ । यस कारणले सरकारले विभिन्न प्याकेजमा महिलाको सुरक्षा, शिक्षाको ग्यारेन्टी, लैगिंक समानता एवं आर्थिक उन्नतीमा ध्यान केन्द्रित गर्न सक्छ, यसबाट मात्र भविष्यमा नेपालमा महिला सशक्तिकरण सम्बन्धी कार्यमा सफलता प्राप्त गर्न सकिन्छ ।

आधा आकाश ढाकेका महिलाको सशक्तिरण र उत्थानबाट मात्र समाज र राष्ट्रको विकास गर्न सम्भव छ, किनकी जनसंख्याको हिसाबले मात्र होइन, पारिवारिक हिसाबले पनि प्रत्येक परिवारमा महिलाको भूमिका रहेकोे हुन्छ । राष्ट्रको समुन्नती र विकास भनेको त्यहाँ रहेका सम्पूर्ण जनताको समानुपातिक, समावेशी प्रगति र उन्नती हुनु हो ।

हाम्रो समाज त्यही समानुपातिक र समावेशी सहित राज्यको मूल धारमा सबै तह र तप्काका नागरिक अटाउन सक्ने समुन्नती र विकास पर्खाइमा छ, जसले प्राकृतिक, धार्मिक तथा साँस्कृतिक रुपमा उदाहरणीय मुलुक समानुपातिक प्रतिनिधित्व सहितको विकासमा समेत उदाहरणीय बन्न सकोस्, हाम्रो सफलता र स्वर्णिम भविष्यमा यसमा रहेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्