काठमाडौँ – चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै धनगढीमा आमरण अनसनरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसी र सरकारबीच ७ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ। सरकारी वार्ता टोलीसँग सोमबार साँझ सहमति जुटेपछि डा. केसीले जुस पिएर आफ्नो २४ औँ सत्याग्रह अन्त्य गरेका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा र प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा.डा. जगदीश चन्द्र अग्रवालको उपस्थितिमा डा. केसीले अनसन तोडेका हुन्।
दुई पक्षबीच भएको सहमतिअनुसार कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा तत्काल प्रक्रिया अघि बढाएर कम्तीमा ३०० शय्याको शिक्षण अस्पताल सञ्चालन गरिनेछ। साथै, आवश्यक जनशक्तिको व्यवस्था गरी चालू शैक्षिक सत्रबाटै एमबीबीएस (MBBS) लगायतका शैक्षिक कार्यक्रमहरू सुरु गर्ने सहमति भएको छ। सुदूरपश्चिम लगायतका सीमावर्ती क्षेत्रका नागरिकलाई स्वास्थ्य र शिक्षाका लागि छिमेकी मुलुकमा निर्भर हुनुपर्ने बाध्यता हटाउन पूर्वाधार विकास गर्ने प्रतिबद्धता समेत सरकारले जनाएको छ।
यसैगरी, राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को भावनाअनुरूप सार्वजनिक शिक्षण संस्थाहरूको सुधार र सिट संख्या वृद्धि गर्ने लगायतका बुँदा सहमतिमा समेटिएका छन्। विगतमा भएका सम्झौताहरूको कार्यान्वयन अवस्थाबारे अध्ययन गर्न तीन महिनाभित्र प्रतिवेदन बुझाउने गरी शिक्षा तथा खेलकुद मन्त्रालयले एक कार्यदल गठन गर्ने निर्णय भएको छ। उक्त सहमतिहरूको प्रभावकारी अनुगमनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा एक अनुगमन समितिको गठन गरिएको छ।


प्रतिक्रिया दिनुहोस्