सुनसरी – सुनसरी जिल्लाका विभिन्न क्षेत्रमा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर लगाइएको अनिश्चितकालीन कर्फ्यु आदेश मंगलबार बिहान १२:१५ बजेदेखि पूर्ण रूपमा हटाइएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले एक सूचना जारी गर्दै शान्ति सुरक्षाको अवस्था सामान्य बन्दै गएपछि कर्फ्यु हटाइएको जानकारी दिएका हुन् ।
यसअघि साउन ११ गते (सोमबार) राति ९:०० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि इनरुवा नगरपालिका–३ र ६ को पूर्वी सीमा (महेन्द्र राजमार्गअन्तर्गत घोपाली टोल) देखि पश्चिममा कोशी ब्यारेजको पुलसम्म र राजमार्गको उत्तर–दक्षिण २०० मिटर क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरिएको थियो । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम सो क्षेत्रमा आवतजावत, भेला, जुलुस, प्रदर्शन र सभा गर्न निषेध गरिएको थियो. प्रशासनले कर्फ्यु हटाए पनि सर्वसाधारणलाई जिल्लामा शान्ति, सुरक्षा र सामाजिक सुव्यवस्था कायम राख्न सहयोग गर्न अपिल गरेको छ ।
देवानगञ्ज गाउँपालिका–३ को कप्तानगञ्जमा आईतबार राति दुई समुदायबीच भएको झडप नियन्त्रणमा लिने क्रममा गोली लाग्दा एक स्थानीय युवकको मृत्यु भएपछि सुनसरीको सुरक्षा अवस्था तनावग्रस्त बनेको थियो । त्यसलगत्तै सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै प्रशासनले सेना परिचालन गर्नुका साथै विभिन्न बजार क्षेत्र तोकेर कर्फ्यु लगाएको थियो । अहिले कर्फ्यु हटाइए पनि केही संवेदनशील क्षेत्रहरूमा सामाजिक सद्भाव खलबलिन नदिन सुरक्षा सतर्कता भने यथावत् राखिएको छ ।



प्रतिक्रिया दिनुहोस्