टुकुचालाई भूमिगत गर्न बनाइएको संरचना भत्काउन नपाउने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ कार्तिक २०७९, आईतवार
2 Min Read
Aa

‘काठमाडौँ – काठमाडौं महानगरपालिकाले हात्तीसारमा टुकुचालाई भूमिगत गर्न बनाइएको संरचना (सुरुङ) भत्काउन नपाउने भएको छ । पुरातत्व विभागले गरेको अध्ययनमा टुकुचाको भूमिगत सुरुङ पुरातात्विक सम्पदा भएको पुष्टि भएकाले यसलाई संरक्षण गर्नुपर्ने भएको हो ।

विभागले टुकुचा भूमिगत गर्न बनाइएको सुरुङबारे अध्ययन गर्न पुरातत्वविद् भाष्कर ज्ञवालीको नेतृत्वमा समिति बनाएको थियो । पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरकाअनुसार समितिले दिएको प्रतिवेदन विभागलाई प्राप्त भएको छ ।

‘प्रतिवेदनले उक्त संरचनालाई राणाकालमा बनेको ठहर गरेको छ,’ उनले भने, ‘प्रतिवेदनले त्यसलाई संरक्षण गर्न सिफारिस पनि गरेको छ ।’

महानगरपालिकाले भूमिगत संरचना खोतल्दै खुला गर्ने गरी डोजर चलाएपछि सम्पदा अभियान्ताको अनुरोधमा पुरातत्व विभागले अध्ययन थालेको थियो । अध्ययन समितिले नारायाणहिटीभन्दा बाहिरको जयनेपाल हलदेखि काठमाडौं प्लाजाम्म टुकुचा भूमिगत रुपमा बनाइएको सुरुङ सय वर्षभन्दाअघि नै बनेको निष्कर्ष निकालेको हो ।

सुरुङ ईंटासँगै सुर्की चुना प्रयोग गरेर निर्माण भएको पाइएको छ । गुम्बज आकारमा ईंटाहरु जोडेर निर्माण भएको सुरुङमा पानी बगाउन ठाउँ–ठाउँमा भर्‍याङजस्तो आकारमा छाँगा बनाउँदै काठमाडौं प्लाजासम्म पुर्‍याएको पाइएको छ ।

सिधा बगाउँदा ओरालो नभएर पानी जम्ने खतरा हुने भएपछि ठाउँ–ठाउँमा अग्ला कन्लाजस्तो संरचना बनाउँदै जयनेपाल हलदेखि काठमाडौं प्लाजासम्म पुर्‍याएको अध्ययनको निष्कर्ष छ ।

अध्ययनका क्रममा महानगरले सुरुङमा प्रयोग भएका कतिपय ईंटामा ‘श्री–३ वीर’ लेखेको भेटाएको थियो । सुरुङ बनाउन भने सादा ईंटाहरु पनि प्रयोग भएको पाइएको थियो । त्यसकै आधारमा समितिले सुरुङलाई संरक्षण गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

अध्ययन समितिले सुरुङ बनाउन प्रयोग भएको ईंटा र चुना सुर्कीको नमुना लिएर तिनीहरुको बनोट र प्रकृति अध्ययन गरेको थियो । ती ईंटाहरु राणाकालीन नै भएको र सुरुङको बनोट पनि ‘निओक्लासिक’ शैलीको देखिएको हो । राणाकालमा नेपालमा धेरै संरचनाहरु बेलायतको प्रविधिबाट प्रभावित भएर बनेका थिए । ती संरचना सय वर्ष पुरा भएर अहिले पुरातत्विक सम्पदाका रुपमा संरक्षित छन् ।

भूमिगत सुरुङ भएकाले टुकुचाको सुरुङकोबारेमा अहिलेसम्म अध्ययन भएको थिएन । यसलाई प्रजातन्त्र स्थापनापछिका दशकहरुमा अतिक्रण गरेर टुकुचा लुकाइएको हो कि राणाकालमा नै भूमिगत गरिएको थियो भन्ने अहिलेसम्म आधिकारिक रुपमा प्रमाणित भएको थिएन ।

विभागको अध्ययन प्रतिवेदनले टुकुचा राणाकालमै भूमिगत गरिएको निष्कर्ष निकालेकाले यस विषयमा अब थप बहस आवश्यक नरहेको विभागका अधिकारीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

Array