नेपाल श्रीलंका चेम्बर अफ कमर्सको साधारणसभा सम्पन्न , नयाँ कार्यसमिति गठन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ आश्विन २०७९, मंगलवार
3 Min Read
Aa

काठमाडौं,

नेपाल श्रीलंका चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्रिजको १६ औं वार्षिक साधारणसभाले पर्यटन व्यवसायी विजय श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

हिमालय एयरलाइन्सका भाइस प्रेसिडेन्टसमेत रहेका श्रेष्ठको अध्यक्षतामा २६ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । संघको तीन उपाध्यक्षमा राजेशवीर तुलाधर, रामराज आचार्य र मृगेन्द्रमेहर श्रेष्ठ निर्वाचित भए भने महासचिवमा डा. हरिश जोशी, कोषाध्यक्षमा दिपक महर्जन र दुई सचिवमा विधाता श्रेष्ठ र प्रकाश वली निर्वाचित भएको संघले जनाएको छ ।

कार्यसमिति सदस्यहरुमा अनिल अग्रवाल, अशोक केसी, विद्यासागर ताम्राकार, , नरेन्द्रबल्लभ पन्त, सुनिल भुसाल, मोहन कटुवाल, राजेश शाक्य, प्रसन्न अधिकारी, धिरज कार्की, प्रिया रञ्जन (पप्पु), पोमनारायण श्रेष्ठ, मनिष राजभण्डारी र सुधीर प्रधानांग, सुनिल वंशल, सुशील श्रेष्ठ, रज्जु तन्डुकार, समीर श्रेष्ठ रहेको संघले जनाएको छ ।

संघको पहिलो वैठकले विभिन्न विषयगत समिति पनि बनाएको छ।जसअनुसार उद्योग तथा लगानी समितिको संयोजकमा नरेन्द्रबल्लभ पन्त, वाणिज्य समितिमा सुनील भुसाल, पर्यटन समितिमा प्रसन्न अधिकारी, पूर्वाधार समितिमा मोहन कटुवाल तथा सामाजिक सुरक्षा, शिक्षा र स्वास्थ्य समितिमा राजेश शाक्य रहेका छन् । कार्यक्रममा नेपालका लागि श्रीलंकाली राजदूत हिमाली सुभाषिनी अरुनातिलकाले श्रीलंकाको आर्थिक स्थिति विस्तारै सुधारोन्मुख अवस्थामा रहेको जानकारी गराउँदै द्विपक्षीय सम्बन्धलाई थप अगाडि बढाउन सकिने धारणा राखिन् ।

संघका तत्कालीन अध्यक्ष रमेश महर्जनको कार्यकाललाई स्मरण गर्दै राजदूत अरुनातिलकाले उक्त समयमा नेपाल र श्रीलंकाका व्यवसायीबीच एमओयू भएको र आउँदा दिनमा त्यसलाई निरन्तरता दिनुपर्ने धारणा राखिन् ।

संघका मानार्थ सदस्य तथा नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठले श्रीलंकासँग धार्मिक पर्यटनमा नेपालले सहकार्य गर्नसक्ने उल्लेख गर्दै चिया, जेम्स एन्ड ज्वेलरी तथा गार्मेन्ट लगायतका क्षेत्रमा पनि पुँजी र प्रविधिमा दुई मुलुक मिलेर अघि बढ्नुपर्ने धारणा राखे ।नेपाल र श्रीलंका दुवै दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का सदस्य रहेकाले आर्थिक विकासका लागि दुवै मुलुकले सहकार्य गर्नुपर्ने उनको भनाइ राख्नु भएको थियो।

संघका नवनिर्वाचित अध्यक्ष श्रेष्ठले विषयगत समितिको गठनसँगै संस्थाले द्विपक्षीय आर्थिक तथा सामाजिक विकासका क्षेत्रका काम गर्ने जानकारी दिए ।

उनका अनुसार श्रीलंका र नेपालबीच पुरानो सम्बन्ध रहेकाले आर्थिक विकासका लागि सहकार्य गर्ने योजना रहेको छ । संघको विभिन्न क्षेत्रीय च्याप्टर गठन गर्ने योजना रहेको अध्यक्ष श्रेष्ठको भनाइ छ । दुवै मुलुकमा रहेका दूतावासमार्फत आर्थिक कुटनीतिका क्षेत्रमा काम गर्ने उनको भनाइ छ । समितिका सभापतिहरुले कार्ययोजना तयार गरी संस्थालाई अघि बढाउने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array