आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष सुरु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ भाद्र २०७९, आईतवार
2 Min Read
Aa

काठमाडौँ – आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष सुरु भएको छ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदा सम्म गरिने सोह्र श्राद्धअन्तर्गत पहिलो दिन आज प्रतिपदा तिथि श्राद्ध गरिन्छ ।

आज बिहान ९ बजेसम्म पूर्णिमा र त्यसपछि प्रतिपदा तिथि लाग्ने भएकाले आजै देखि सोह्र श्राद्ध सुरु भएको हो । आजदेखि आश्विन शुक्ल प्रतिपदा सम्मका सोह्र तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्र श्राद्ध भनिएको हो । सक्नेले पितृ पक्षका सोह्रै तिथिमा श्राद्ध गर्नुपर्छ ।

नसक्नेले पञ्चमीदेखि औँशीसम्म, यति पनि नसक्नेले पिताका तिथिमा श्राद्ध गर्नुपर्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डा। रामचन्द्र गौतमले जानकारी दिए । चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्परानुसार दशैं सुरु हुनुअघि सोह्रश्राद्ध गर्ने गरिएको हो ।

सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । पितृ पक्षमा अपराह्नको समयमा श्राद्ध गर्नुपर्छ । धेरै घरमा एकै ब्राह्मणले श्राद्ध गर्ने र बिहानै देखि सोह्रश्राद्ध गर्नु शास्त्रविरुद्ध रहेको अध्यक्ष गौतमले बताए । एक घरमा श्राद्धको टीका लगाएको ब्राह्मणले अर्को घरमा लगाउनु हुँदैन र अर्को टीका लगाएको ब्राह्मण देखे पितृले श्राप दिन्छन् भन्ने मान्यता छ ।

सोह्रश्राद्धका अवसरमा काठमाडौँ उपत्यकाको गोकर्णेश्वर उत्तरगया, नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावती उत्तरगया, चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थल देवघाट, त्रिवेणी लगायत तीर्थस्थलमा पनि पितृप्रति श्रद्धाभावका साथ श्राद्ध गर्नेको घुइँचो लाग्ने गर्दछ । पितृ पक्षको समाप्ति सँगै दुर्गा पक्ष अर्थात् बडादशैँ शुरु हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

Array