विमानस्थलको भीआईपी कक्षबाटै भगाए मुस्लिम आयोगका अध्यक्षले अभियुक्त; होटलबाट पक्राउ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ भाद्र २०७९, शनिबार
2 Min Read
Aa

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्ष दुरुपयोग गरेर शुक्रबार दिउँसो ठगी मुद्दाका एक आरोपी प्रहरीको हातबाट फुत्किना सफल भएका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय बानेश्वरको टोलीले शुक्रबार राति १० बजे त्यसरी भागेका अभियुक्त सुनसरीका ३० वर्षीय रिजवान आलमलाई नक्सालस्थित होटल मेरियटबाट पक्राउ गरेको छ । शुक्रबार आएको फ्लाई दुबईको विमानबाट आएका आलमको पासपोर्टमा ‘अराइभल’ छाप लगाउने क्रममा शंकास्पद देखिएपछि पक्राउ गर्न सफल भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जानकारी दिएको छ । कर्मचारीले प्रहरीलाई खबर गर्नसाथ उनी फरार भइसकेका थिए ।

उनी विमानस्थलबाट बाहिरिसकेको सूचना पाएपछि आलमको खोजीमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली परिचालित भएको थियो । राति होटलमै बसिरहेको अवस्थामा उनी पक्राउ परेका हुन् । दुबईबाट उनीहरु मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीको निमन्त्रणमा आएका थिए । उनीहरुलाई रिसिभ गर्न आयोगका अध्यक्ष अन्सारी स्वयम् विमानस्थल पुगेका थिए । उनी गएपछि दुबईबाट आएका सबैको पासपोर्ट एकमुष्ठरुपमा ‘अराइभल’ छाप लगाउन दिइएको थियो । त्यसक्रममा आलमको पासपोर्ट कालोसूचीमा रहेको देखिएको थियो । ‘तर प्रहरीलाई खबर गरेको सुइँको पाएका उनी केहिवेरमै फरार भएको छ ।

प्रहरीका अनुसार रिजवानमाथि पाइलट पढाइदिने भन्दै एक करोड रुपैयाँ बढी ठगी गरेको आरोप लागेको छ । दाउद हुसेन नामक व्यक्तिको जाहेरीले उनीसहित ११ जना रहेको मुद्दामा उनीहरुलाई पक्राउ गर्न भन्दै २७ फागुन २०७८ मा जिल्ला अदालत, काठमाडौंबाट पक्राउ पूर्जी जारी गरिएको थियो ।
आलम यूएईमा बसेको थाहा पाएपछि उनलाई पक्राउ गर्न प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) लाई पनि गुहारेको थियो । काठमाडौं प्रहरीले २ वैशाखमा इन्टरपोललाई पत्राचार गरेर रेड नोटिस जारी गरेको थियो । आलमलाई हाल प्रहरी वृत्त गौशालामा राखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array