हङकङलाई हराउँदै भारत एसिया कपको सुपर–४ मा प्रवेश

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ भाद्र २०७९, बिहीबार
2 Min Read
Aa

काठमाडौँ – विराट कोहली र सूर्यकुमार यादवको अर्धशतकप्रेरित भारतले बुधबार राति हङकङलाई ४० रनले हराउँदै एसिया कपको सुपर–४ मा स्थान पक्का गरेको छ । भारत समूह ‘ए’बाट विजेता बन्दै सुपर–४ मा स्थान बनाउन सफल भएको हो । भारतले यसअघि चीरप्रतिद्वन्द्वी पाकिस्तानलाई हराएको थियो । पाकिस्तान र हङकङबीचको नतिजाले समूह ‘ए’को उपविजेता टिम टुंगो लाग्नेछ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हङकङले टस जितेर बलिङ गर्ने निर्णय लिएको थियो । त्यसपछि ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर १९२ रन बनाएको थियो । १९३ रनको लक्ष्य पछ्याएको हङकङले ५ विकेट गुमाएर १५२ रनमात्र बनाउन सक्यो । हङकङकका लागि बाबर हायतले सबैभन्दा धेरै ४१ रन बनाए । किनचित शाहले ३० रन बनाउँदा जीशन अली २६ र स्कट म्याकेक्नी १६ रनमा अविजित रहे । अजिज खान १४ र निजाकट खान १० मा आउट भएका थिए ।

भारतका भुवनेश्वर कुमार, आर्शदीप सिंह, रविन्द्र जडेजा र आभाष खानले समान एकरएक विकेट लिए । त्यसअघि भारतका लागि सूर्यकुमारले २६ बलमा ६ चौका र ६ छक्का प्रहार गर्दै अविजित ६८ रन बनाए । उनले कोहलीसँग तेस्रो विकेटका लागि अविजित ९८ रनको साझेदारी गरेका थिए । कोहलीले ४४ बलमा ५९ रन बनाए । कोहलीले एक चौका र तीन छक्का प्रहार गरे ।

ओपनर केएल राहुलले २६ र कप्तान रोहित शर्माले २१ रन बनाए । हङकङका मोहम्मद जहाजनफर र आयुष शुक्लाले एकरएक विकेट लिए । हंङकङले अब शुक्रबार पाकिस्तानसँग खेल्नेछ ।

एसिया कपमा आज बंगलादेशले श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । समूह ‘बी’बाट अफगानिस्तानले समूह विजेता बन्दै सुपर–४ मा स्थान बनाइसकेको छ । बंगलादेश र श्रीलंकाबीचको नतिजाले समूह ‘बी’मा उपविजेता टोलीको टुंगो लाग्नेछ । सुपर–४ को खेल राउण्ड रोबिन लिग पद्धतीमा खेलाइने छ । सुपर–४ को शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

Array