चिनियाँ कम्पनीले ल्याएको ट्रान्सफर्मर गुणस्तरहीन भएपछि फिर्ता पठाइयो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ  – चिनियाँ कम्पनीले विद्युतीय चार्जिङ स्टेशनका लागि गुणस्तरहीन ट्रान्सफर्मर आएपछि फिर्ता पठाएको छ । कम्पनीले गुणस्तरहीन ट्रान्सफर्मर ल्याएपछि नेपाल विद्युत प्राधिकरणले आफ्नै ट्रान्सफर्मर राख्न थालेको हो। कम्पनीले चार्जिङ स्टेशनका लागि ल्याएको ट्रान्सफर्मरमा तोकिएको भन्दा धेरै नोक्सानी भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन।

घिसिङका अनुसार चिनियाँ कम्पनीसँग भएको सम्झौता अनुसार गत असार ८ गतेसम्म सबै चार्जिङ स्टेशन संचालनमा आइसक्नुपर्ने तर ल्याइएका ट्रान्सफर्मरमा नै समस्या देखिएपछि ढिलाइ भएको हो । प्राधिकरणले ३२ स्थानमा ५१ वटा चार्जिङ स्टेशन निर्माणको जिम्मा चिनियाँ कम्पनी वानब्याङ डिजिटल इनर्जीले दिएको थियो।
उनले भने, यहाबाट फिर्ता पठाएको ट्रान्सफर्मर आइपुग्न कम्तीमा दुई/तीन महिना लाग्छ। चार्जिङ स्टेशनहरु तत्काल संचालनमा ल्याउन प्राधिकरणले रिप्लेस गर्ने गरि ट्रान्सफर्मर प्रयोग गरेको घिसिङको भनाई छ। चार्जिङ स्टेशनमा २०० केभी क्षमताका ट्रान्सफर्मर प्रयोग गरिएको छ।

आयोजनाका एक इन्जिनियरले पछिल्लो संशोधित तालिका अनुसार आगामी दुई महिनामा सबै चार्जिङ स्टेशन संचालनमा आउने दाबी गरेका छन। उनका अनुसार बल्खु, साझा पेट्रोलपम्प, खुर्कोट लगायत ५ स्थानमा चार्जिङ स्टेशन तयार भइसकेको तर संचालनमा भने आइसकेको छैन।

त्यस्तै ५१ वटा मध्ये मंगलबार प्राधिकरणले आफ्नै प्राङगणमा एउटा चार्जिङ स्टेशन संचालनमा ल्याएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले उद्घाटन गरेर चार्जिङ स्टेशन संचालनमा ल्याइएको छ।

प्रतिक्रिया दिनुहोस्