भन्सार नाकामा प्रयोगशाला नहुँदा विषादी परिक्षणमा समस्या

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ भाद्र २०७९, सोमबार
2 Min Read
Aa

काठमाडौँ – कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा विषादी परीक्षण गर्ने प्रयोगशाला नहुँदा समस्या हुने गरेको छ । भारतबाट आयातित तरकारी र फलफूलमा विषादी परीक्षण गर्न कार्यालयको आफ्नै प्रयोगशाला नहुँदा समस्या हुने गरेको हो । विषादी परीक्षणका लागि कैलालीको अत्तरिया जानुपर्ने बाध्यता रहेको छ । कार्यालयका सूचना अधिकारी परमानन्द जोशीले भारतबाट आयात हुने तरकारी र फलफूलमा विषादी परीक्षण गनुपर्ने भए पनि प्रयोगशाला र प्राविधिक नहुँदा परीक्षणका लागि ४२ किलोमिटर टाढा अत्तरिया जानुपर्ने बाध्यता रहेको जानकारी दिएका छन ।

उनका अनुसार विषादी परीक्षणका लागि नमूना पठाए पनि रिपोर्ट आउन एक-दुई दिनसम्म समय लाग्ने गरेको छ ।परिक्षणको लागि ५-६ घण्टा लाग्ने भए पनि अत्तरियामा कर्मचारी नहुँदा ढिलाई हुने गरेको छ । “विषादी परीक्षणका लागि न प्रयोगशाला छ न प्राविधिक नै छन् ।” उनले भने, “रिपोर्ट आउन कम्तीमा एक दिन लाग्छ छिटो भयो भने बिहान आएको गाडी साँझसम्म पठाउँछौँ ।” उहाँले अत्तरिया प्रयोगशालामा पनि प्राविधिक कम भएका कारण कहिलेकाहीँ समय बढी लाग्ने गरेको बताए । “परीक्षण गर्न टाढा पठाउनु पर्दा समय लाग्छ सेवाग्राहीले गुनासो गर्ने गरेका छन् ।” उहाँले भन्नुभयो, “रिपोर्ट आउन समय लाग्दा भारतबाट आएका तरकारीका गाडी एक÷दुई दिन नाकामै रोकिनुपर्ने बाध्यता छ ।”

सब्जीमण्डी व्यवसायी समितिका अध्यक्ष विशाल सुनारले भन्सार कार्यालयले भारतबाट आउने तरकारी परीक्षणमा कडाइ गनुपर्ने जनाए । “भन्सार कार्यालयमा प्रयोगशाला हुन जरुरी छ विषादी परीक्षण नगरी तरकारी आयात हुन दिनुहुँदैन ।” उनले भने, “परीक्षणकै लागि नाकामा लामो समय तरकारीका गाडी रोकेर राख्नुपर्ने बाध्यता छ ।” उनले गड्डाचौकी भन्सार कार्यालयमा प्रयोगशाला भएर व्यवसायीलाई सहज हुने बताए।

प्रतिक्रिया दिनुहोस्