प्रेमगीत ३ टिमलाई बोर्डको सम्मान

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ भाद्र २०७९, सोमबार
2 Min Read
Aa

काठमाडौँ – चलचित्र विकास बोर्डले नेपाली फिल्म ‘प्रेमगीत ३ फिल्मको निर्देशकदेखि कलाकारसम्मलाई सम्मान गरेको छ । आइतवार बोर्डको सभा हलमा आयोजित एक कार्यक्रममा अध्यक्ष भुवन केसीले फिल्मको टिमलाई शुभकामना दिँदै सम्मानस्वरुप गौतम बुद्धको मुर्ति प्रदान गरेका हुन ।

नेपाली फिल्मलाई विश्व बजारमा पुर्‍याउन ‘प्रेमगीत ३’को टिमले गरेको प्रयासको मुक्तकण्ठले प्रशंसा गर्दै अध्यक्ष केसीले आफ्नो व्यक्तिगत र बोर्डको तर्फबाट फिल्मलाई हरेक प्रकारको साथ र सहयोग गर्न तयार रहेको प्रतिवद्धता जनाए । ‘म सधैं नै नेपाली फिल्म विश्व बजारमा पुग्नुपर्छ भन्ने सोच्थेँ । ‘प्रेमगीत ३’को टिमले यसको लागि प्रयास गरेकोमा म एकदमै खुसी छु,’ भुवनले भने ।

भारतमा हिन्दी भाषामा रिलिज हुन लागेको ‘प्रेमगीत ३’ले नेपाली कला, संस्कृति र भाषालाई विश्वमा चिनाउन ठूलो भूमिका खेल्नेमा उनी विश्वस्त छन् । फिल्मले नेपालको पर्यटन प्रवद्र्धनमा पनि धेरै सघाउने उनको भनाई छ । ‘प्रेमगीत ३’ले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुग्न बाटो खोल्ने विश्वास व्यक्त गर्दै केसीले नेपाली र हिन्दी दुवै भाषाका लागि सफलताको शुभकामना दिए ।

बोर्डबाट सम्मान ग्रहण गरेपछि निर्देशक तथा निर्माता सन्तोष सेनले बोर्डको प्रोत्साहनले ठूलो हौसला मिलेको बताए । उनले नेपाली फिल्मलाई विश्व बजारमा पुर्‍याउन सिंगो फिल्म क्षेत्र एकजुट हुनुपर्ने धारणा राखे । कार्यक्रममा सेनसँगै कलाकारहरु सुनिल थापा, शिव श्रेष्ठ, मनिष राउतलगायत उपस्थित थिए । तर, मुख्य नायक प्रदीप खड्का र नायिका क्रिस्टिना गुरुङ भने गएका थिएनन् ।

‘प्रेमगीत ३’ आगामी असोज ७ गते नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउने तयारीमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array