आज कुशे औंसी तथा बावुको मुख हेर्ने दिन, गोकर्णेश्वरमा भक्तजनको भिड

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ भाद्र २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौँ  – हिन्दू धर्मावलम्बीहरूको पवित्र वनस्पति कुशलाई घरघरमा भित्र्याउँदै देशैभर कुसे औंशी पर्व मनाईंदैछ । प्रत्येक वर्षको भाद्रकृष्ण औँसीका दिन पर्ने यो दिन घरघरमा कुश भित्र्याउनुका साथै आफ्ना बुबाको मुख हेर्ने र विभिन्न परिकार खुवाउने प्रचलन छ ।

‘कुश’लाई देवकार्य तथा पितृकार्य दुवैमा प्रयोग गरिने पवित्र वनस्पति मानिन्छ । कुशलाई शालिग्राम, तुलसी तथा पिपललाई जस्तै भगवान विष्णुका रूपमा पूजा गरिन्छ । बौद्ध धर्मावलम्बी समेतले पवित्र वस्तुका रूपमा लिने कुशलाई घरमा राखे मात्रै पनि घर पवित्र हुने धार्मिक विश्वास रहेको छ । कुशे औंसीका दिन छोराछोरीले आफ्ना बाबुलाई मनपर्ने खानेकुरा, फलफूल, मिठाई खुवाएर तथा कपडा उपहार दिएर सम्मान आदर भावका साथ मुख हेर्ने चलन प्राचीन कालदेखि चलिआएको संस्कृतिविद्ले जानकारी दिएका छन ।

आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ। यसैले आजको औँशीलाई गोकर्णे औँशीका नामले पनि चिनिन्छ। गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको भीड लाग्दछ। यसैगरी रसुवाको वेत्रावतीमा पनि भक्तजनको लर्को लाग्छ। तनहुँको देवघाट, सुनसरीको विष्णुपादुका तथा बराहक्षेत्र लगायतका पवित्र तिर्थस्थल पुगेर स्नान गरी पितृहरूको नाममा श्राद्ध गरी तर्पण दिई दान दिने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्

Array