नेपाली नर्सलाई बेलायतका स्वास्थ्य क्षेत्रमा रोजगारी प्रदान गर्ने समझदारीपत्रमा हस्ताक्षर

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ भाद्र २०७९, सोमबार
3 Min Read
Aa

नेपाली नर्सलाई नयाँ रोजगार गन्तव्य मिल्ने भएको छ । आज नेपालका लागि बेलायतका राजदूत र नेपाल सरकारका प्रतिनिधि वीच बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली नर्सलाई रोजगारी प्रदान गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज अपरान्ह १२ बजे एक कार्यक्रमकाबीच द्धिपक्षीय श्रम सम्झौता भएको हो ।

सम्झौतामा बेलायत सरकारका तर्फबाट राजदूत निकोला पोलिट र नेपालका सरकारका तर्फबाट श्रमसचिव एकनारायण अर्यालले हस्ताक्षर गरेका हुन् ।

बेलायत सरकारले बेलायतको नेसनल हेल्थ सर्भिसेस अन्तरगत काम गर्न १० हजार नेपाली नर्स लैजादै छ ।

समझदारीपछि अव नेपाली नर्सहरूले विधिसम्मत् तवरले बेलायतको स्वास्थ्य क्षेत्रको रोजगारीमा संलग्न हुन सहज वातावरण तयार हुने छ ।

बेलायतमा कार्यरत रहदा नेपाली नेपाली नर्सहरूको सेवा सुविधा र अधिकार बेलायती नर्सहरूको सरह हुने वताईएको छ ।

श्रमसचिव एकनारायण अर्यालका अनुसार नेपाली स्वास्थ्यकर्मी छनौट, पदस्थापन, सेवा सुविधा सम्बन्धी मापदण्ड लगायतका, यससम्बन्धी सबै व्यवस्था जिटुजी प्रक्रिया बमोजिम हुने छ  । नियुक्ति प्रक्रियाका कुनै शु:ल्क नलाग्ने एवं रोजगारीका लागि छनौट भएकाहरुको लागतको शोधभर्ना समेत हुने सचिव अर्यालले बताए ।

त्यस्तै उक्त कार्यक्रममा राजदूत निकोला पोलिटले नेपाली स्वास्थ्यकर्मीहरूलाई बेलायतमा रोजगारी दिन पाउनु खुसीको कुरा भएको भन्दै आगामी दिनमा स्वास्थ्य क्षेत्रको निरन्तर सुद्धिकरण र आधुनिकीकरणमा सहयोग जारी रहने वाताईन्  ।

समझदारीपत्रमा उल्लेख गरिएका विषयहरु 

१. स्वास्थ्यकर्मीको छनौट र पदस्थापन नेपालको वैदेशिक रोजगार विभाग तथा बेलायतको डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसियल केयर वा तोकिएको निकायको प्रत्यक्ष संलग्नतामा सरकारी (गभर्मेन्ट टु गभर्मेन्ट) प्रक्रिया बमोजिम हुने ।

२. नेपाली स्वास्थ्यकर्मीलाई बेलायतको स्वास्थ्य सेवा (एन. एच. एस.) मा सुरक्षित, मर्यादित र व्यवस्थित तवरले रोजगारीमा संलग्न हुने व्यवस्था मिलाइने ।

३. विश्व स्वास्थ्य संगठनको हेल्थ वर्कर सपोर्ट एण्ड सेफगार्ड लिष्ट २००० मा नेपाल समावेश रहेको अवस्थालाई मध्यनजर गरी स्वास्थ्यकर्मीको संख्या र प्रकारका सम्बन्धमा दुबै सरकारले संयुक्त निर्णय गर्ने ।

४. नेपालको स्वास्थ्य क्षेत्रको विकास र सुदृढीकरणमा बेलायत सरकारको योगदान रहदै आएकोमा आगामी दिनमा समेत स्वास्थ्य क्षेत्रको निरन्तर सुदृढीकरण र आधुनिकीकरणमा सहयोग जारी हुने ।

५. परीक्षणको रुपमा प्रथम चरणमा नेपाली नर्सहरुलाई बेलायतमा पदस्थापन गर्ने कार्यलाई इम्प्लिमेन्टेसन प्रोटोकल स्पष्ट व्यवस्था गरिने।

६.नियुक्ती प्रक्रियाका लागि कुनै शुल्क नलाग्ने एवम् रोजगारीका लागि छनौट भएका स्वास्थ्यकर्मीको लागतको शोधभर्ना हुने ।

७. परीक्षण चरणको अन्तमा समग्र स्वास्थ्यकर्मी नियुक्ती प्रक्रियाको मूल्याङ्कन गरिने र थप नियुक्ती तथा विस्तारका सम्बन्धमा आवश्यक निर्णय लिइने ।

प्रतिक्रिया दिनुहोस्