नेपाली भूमि छिमेकी राष्ट्र विरुद्ध प्रयोग हुन दिदैनौं; सभामुख सापकोटा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ श्रावण २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेटवार्ता गरेकी छन् । लैनचौरस्थित सभामुखको सरकारी निवासमा शुक्रबार बिहान भएको भेटमा सभामुख अग्निप्रसाद सापकोटाले नेपाली भूमि छिमेकी राष्ट्र विरुद्ध प्रयोग हुन नदिने बताएका छन ।

सभामुख सापकोटाले नेपाल एक चीन नीतिमा सदैव प्रतिबद्ध रहेको स्पष्ट गर्दै नेपाली भूमि छिमेकी राष्ट्र विरुद्ध प्रयोग हुन नदिने विषयमा नेपाल सधैँ चनाखो र सचेत रहेको जनाए । उनले संयुक्त राष्ट्रसंघको बडापत्र तथा पञ्चशीलको सिद्धान्त अनुरुप कुनै पनि मुलुकको सार्वभौमिकता र आन्तरिक मामिलामा अहस्तक्षेपको नीतिको सबैले सम्मान गर्नुपर्ने धारणा व्यक्त गरे ।

त्यसैगरी, भेटमा राजदूत होउ यान्छीले नेपाल, चीनको असल छिमेकी रहेको बताउँदै एक चीन नीतिप्रति नेपालको प्रतिबद्धताको उच्च प्रशंसा गरिन् । साथै, नेपालको स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय अखण्डताको पक्षमा चीनले सदैव दृढ समर्थन गर्दै आएको बताइन् । राजदूत होउले आगामी दिनमा पनि नेपालको विकास र समृद्धिमा चीनको निरन्तर साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्