कर्मचारीको पोसाक अनिवार्य नेपाली कपडाको:सांसद नविना लामा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ असार २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ । नेकपा (एमाले)की सांसद नविना लामाले सरकारी कर्मचारीको पोसाक र सरकारी कार्यालयका फर्निचर नेपाली सामग्रीबाट बनेको हुनुपर्ने अनिवार्य नीति ल्याउनुपर्ने बताएकी छन् । उनले मुलुकको अर्थतन्त्र कमजोर भइरहेको अवस्थालाई मध्यनजर गर्दै सरकारले जोखिम मोल्नुपर्ने बताइन् ।

प्रतिनिधिसभाको शनिबारको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद लामाले जनताका समस्या समाधान गर्न र मुलुकका वर्तमान समस्याबाट पार पाउन ठोस योजना ल्याउनुपर्ने बताइन् ।

नेपाली उत्पादन र उपभोगको दशक नारा आकर्षक छ । तर, यसको ठोस कार्यक्रम चाहिन्छ । सरकारी कार्यालयमा प्रयोग हुने फर्निचर नेपाली हुनुपर्छ, कर्मचारीले लगाएको पोसाक नेपाली कपडाबाट बनेको हुनुपर्छ भन्ने घोषणा सरकारले किन गर्दैन ? हाम्रो जंगलमा काठ कुहिएर गएको छ, फर्निचर मलेसिया र चीनबाट मगाउनुपर्ने अवस्था छ । यस्तो अवस्था तोड्नुपर्छ, तोड्न सक्नुपर्छ । उनले नीति तथा कार्यक्रममा सबै कुरा उल्लेख गरिएको तर मुख्य कुरा अहिलेको आर्थिक संकटलाई कसरी तोड्ने भन्ने उल्लेख नभएको बताइन् ।

नीति तथा कार्यक्रममा किशोरी र महिलामाथि हुने यौन हिंसाबारे केही पनि उल्लेख नभएको भन्दै उनले असन्तुष्टि व्यक्त गरिन् । पुँजी बजारबारे पनि नीति तथा कार्यक्रममा ठोस योजना उल्लेख नभएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: