सिडी रेसियो व्यवस्थापन गर्ने दबाब ,नयाँ कर्जा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ जेष्ठ २०७९, मंगलवार
3 Min Read
Aa

वाणिज्य बैंकहरूको जारी भएको आठ अर्ब रूपैयाँ कर्जा छ दिनमा घटेको छ। पुँजी स्रोत बढ्न नसकेको र राष्ट्र बैंकको नीति अनुसार आगामी असारसम्म कम्तीमा निक्षेपको तुलनामा कर्जा लगानी अनुपात (सिडी रेसियो) ९० प्रतिशतमा सीमित कायम गर्नुपर्ने भएपछि बैंकहरू कर्जा ‘व्यवस्थित’ गर्न लागेका हुन्।

१३ जेठमा ४१ खर्ब ९८ अर्ब कर्जा लगानी गरेका वाणिज्य बैंकहरूको १९ जेठमा कर्जा लगानी ४१ खर्ब ९० अर्ब रूपैयाँमा झारेका हुन्। राष्ट्र बैंकका अनुसार समग्र बैंक तथा वित्तीय संस्थाहरूको कर्जा निक्षेप अनुपात पनि ९०.०५ प्रतिशत छ।

‘हुन त असार नजिँकिदै गर्दा बैंकहरूले कर्जा लगानी केही कम गर्छन् नै,’ नेपाल बैंकर्स संघका अध्यक्ष तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायले भने, ‘जेठ-असार लाग्दै गर्दा बैंकहरूले वर्ष दिनमा गर्ने कमाइ भइसकेको पनि हुन्छ। त्यसमाथि अहिले सिडी रेसियो व्यवस्थापन गर्ने दबाब पनि छ, त्यसैले नयाँ कर्जा खासै जाँदैनन्।’

केही समयदेखि कर्जा निक्षेप अनुपात ९० प्रतिशतमाथि भइरहेकाले पनि कर्जा जारी गर्न रोकरै पनि बैंकहरूले यसलाई व्यवस्थित गरिरहेका हुन्। तरलता समस्या नभएका र सिडी रेसियो सीमाभन्दा कम भएका बैंकहरूले भने अन्य वित्तीय संस्थाबाट थप कर्जा खरिद (स्वाप) गरिरहेका छन् दबाबमा रहेकाले कर्जा बिक्री गरिरहेका छन्। त्यस्तै, राष्टरू बैंकले निर्देशित गरेको उर्जा, कृषि जस्ता क्षेत्रमा अनिवार्य रूपमा गर्नुपर्ने लगानीको लागि पनि हाल कर्जाको किनबेच भइरहेको छ।

तरलतामा दबाब

बैंकहरू तरलता अनुपात कायम गर्नुपर्ने दबाबमा समेत छन। बैंकहरूले निक्षेपको बाँकी १० प्रतिशत र चुक्ता पुँजी लगायत गरी २० प्रतिशत बराबर तरलता पनि राखिराख्नुपर्ने हुन्छ। अहिले बैंकहरूलाई यसमा समेत दबाब छ।

‘अहिले पनि अवस्था सामान्य भने भइसकेको छैन,’ एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भने, ‘अहिले पनि धेरै बैंकको तरलता अनुपात २० प्रतिशतभन्दा कम छ, अहिले हामीले निक्षेपमा गणना गर्न पाइरहेको ऋणपत्र, स्थानीय निकायको रकम समेत असारपछि गणना गर्न नपाइने कुरा छ।’

गत पुससम्ममा सात वटा वाणिज्य बैंकहरूको खुद तरलता अनुपात २० भन्दा कम थियो। अहिले पनि लगभग त्यस्तै अवस्था रहेको केसीको भनाइ छ। निक्षेप लिन बैंकमा ग्राहकहरू ओइरिएमा सहज होस् भन्ने उद्देश्यले सबै स्रोत कर्जा लगानी नगरेर २० प्रतिशत हाराहारी यसरी तरलता राखिन्छ।

दुई खर्ब थप आवश्यक

हाल बैंकहरूले जारी गरेका ९० अर्ब बराबरका ऋणपत्रहरू पनि निक्षेपमा जोडेर सिडी रेसियो कायम भइरहेको छ। त्यस्तै बैंकहरूले स्थानीय तहको करिब एक खर्ब ५० अर्ब बराबरको रकम निक्षेपमा देखाइरहेका छन्।

असारसम्म बैंकहरूले स्थानीय तहको कोषमा हुने यस्तो रकमको ८० प्रतिशतसम्म निक्षेपमा गणना गर्न दिएको भएपनि असारपछि पहिले जस्तै ५० प्रतिशत रकममात्र गणना गर्दा प्रयोग गर्न पाउँछन्। यसो भएमा बैंकहरूबाट यस्तो स्रोतको रूपमा प्रयोग भइरहेको ५०-६० अर्ब हालकै कर्जा लगानीको आधारमा अन्य स्रोतबाट खोज्नुपर्ने हुन्छ। अहिले कै दरमा कर्जा लगानीको लागि करिब दुई खर्ब रूपैयाँ चाहिने अवस्था छ।

हाल बैंकहरूले राष्ट्र बैंकबाट पाउने बिभिन्न सापटिहरूबाट समेत तरलता अनुपात कायम गरिरहेका छन्। चालु आर्थिक वर्षको हालसम्म राष्ट्र बैंकबाट बैंकहरूले सात दिनको लागि सात प्रतिशतमा पाइने सात खर्ब ६९ अर्ब बराबर रकम लिएका छन्। यसमध्ये दुई खर्ब १० अर्ब बैंकहरूले अझै चलाइरहेकै अवस्था छ।

Source

प्रतिक्रिया दिनुहोस्

Array