देश को ढुकुटी ले रमाउदै सांसदहरू

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ जेष्ठ २०७९, शनिबार
3 Min Read
Aa

बेला बेला समाचार मा प्रदेश खारेज हुनु पर्छ भन्ने बहस चलेको सुन्न पाइन्छ भने अर्को तिर  प्रदेश १ मा ‘अनुभव आदान–प्रदान’ का नाममा प्रदेशका सांसदहरू बागमती प्रदेश र गण्डकी प्रदेश पुगेर सरकारी पैसामा घुमघाम गरिरहेका छन्।
प्रदेशसभामा रहेका विभिन्न संसदीय समितिका सभापति तथा सदस्यहरू यतिबेला देश दौडाहामा छन्।

बजेट अभावको सकसले विकास आयोजनाहरूलाई गति दिन नसकेको भन्दै प्रदेश १ सरकार लामो समयदेखि भौंतारिइरहेको छ। तर, स्रोत अभावको यही बेला सरकार भने प्रदेशका सांसदहरू घुमाउन दैनिक लाखौं खर्च गरिरहेको छ।
प्रदेशसभाका सात संसदीय समितिमध्ये यतिबेला पाँच वटा समिति देश दौडाहामा छन्। तीमध्ये आर्थिक समिति र पर्यटन वन वातावरण समिति प्रदेशभित्रैका जिल्लाहरू घुमिरहेका छन्।

संसदीय अनुगमनका लागि समिति प्रदेशका विभिन्न जिल्ला पुगेको संसद् सचिव गोपालप्रसाद पराजुलीले बताए।

‘विधायन समिति, सुशासन समिति र सार्वजनिक लेखा समितिका माननीयज्यूहरू संसदीय भ्रमणका क्रममा प्रदेशबाहिर हुनुहुन्छ’, उनले भने ‘यो संसदीय भिजिट हो।’

प्रदेशसभा सचिव पराजुलीले सांसदहरूको भ्रमणलाई ‘संसदीय भ्रमण’ दाबी गरे पनि संसदीय समितिका सभापति र सदस्यहरूको तस्बिर र घुमाइले उनको दाबी पुष्टि गर्दैन।

प्रदेशको सार्वजनिक लेखा समितिका सभापति शिवनारायणसिंह गनगाइँसहितको टोली शनिबार बिहान पोखराबाट मुस्ताङतिर लागेको छ।

समितिका सदस्यहरूले घुमघामको फोटो सामाजिक सन्जालमा राखेर ‘अबको यात्रा मुस्ताङतिर’ भनेर लेखेका छन्।

प्रदेश १ को संसद् सचिवालय स्रोतका अनुसार जेठ २५ मा सरकारले वार्षिक नीति तथा कार्यक्रम संसदमा पेस गर्दैछ। त्यसअघि नै भ्रमणका लागि छुट्याएको बजेट सक्न संसदीय समितिहरू घुमघाममा निस्किएका हुन्।

‘पोहोरकै बजेटमा सांसदहरूको भ्रमणका लागि बजेट छुट्टिएको थियो’, सचिवालयका एक कर्मचारीले भने ‘सोही अनुसार उहाँहरू भ्रमणमा जानुभएको हो।’

सांसदहरूको घुमघामका लागि कति खर्च लाग्यो भन्ने कुरा टोली फर्केपछि मात्रै थाहा हुने सचिवालय स्रोतको भनाइ छ।

‘कोही पोखरा र मुस्ताङतिर जानुभएको छ, कोही काठमाडौंसहित बागमती प्रदेशतिर हुनुहुन्छ’, ती कर्मचारीले भने, ‘केही सांसदहरू प्रदेशकै पहाडी जिल्लातिर हुनुहुन्छ। उहाँहरू फर्केपछि कति खर्च भयो भन्न सकिन्छ। अहिले सकिन्न।’

प्रदेशको सांसद भएवापत मासिक पारिश्रमिक, इन्धन खर्च, बैठक भत्ता, स्वकीय सचिव नियुक्ति जस्ता सुविधा राज्यकोषबाटै उपभोग गरिरहेका जनप्रतिनिधिहरूले घुमघामका नाममा बजेट सकाउने बाटो रोज्नु गलत भएको कर्मचारीहरू बताउँछन्।

‘प्रदेशले केही काम गरेन, प्रदेशको औचित्य नै छैन भन्दै आलोचना लगातार भइरहेको छ’, आर्थिक मामिला मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘ठीक यहीबेला सांसदहरू हुल बाँधेर घुमघाममा निस्केको ठीक भएन। यसले हुने खर्चभन्दा पनि जनमानसमा जाने सन्देश गलत हुन्छ।’

अहिलेको घुमघाम टोलीमा सबैजसो दलका सांसदहरू सहभागी छन्।

सांसदहरूको अहिले जारी घुमघामबारे प्रदेश सरकारका मन्त्रीहरू कोही बोल्न खोज्दैनन्।

सरकारका प्रवक्ता सञ्चारमन्त्री उपेन्द्र घिमिरेले घुमघामका लागि समय उपयुक्त भए–नभएको विचार गर्नुपर्ने बताउँछन्।

अघिल्लो सरकारले बजेट नै छुट्याएर सदनले पारित गरेका कारण खर्च कटौती गर्न नमिलेको अर्का एक मन्त्री दाबी गर्छन्।

‘पोहोरकै बजेटमा सांसदलाई घुमाउने बजेट छुट्याएको रहेछ’, ती मन्त्रीले भने ‘हामीले रोक्न मिल्दै मिलेन।’

Source

प्रतिक्रिया दिनुहोस्