काठमाडौँ क्षेत्र नं १ मा पुकार बमको उम्मेदवारी घोषणा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० जेष्ठ २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – सामाजिक तथा राजनीतिक अभियन्ता पुकार बमले काठमाडौं क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी घोषणा गरेका छन् । बम स्वर्गीय उज्वल थापासँगै तत्कालिन विवेकशील नेपाली दलका एक जना संस्थापक हुन् ।

बम ०७२ सालको भूकम्पमा राहत वितरण, कोरोना महामारीको समयमा विपन्नलाई निशुल्क खाना खुवाउने र अस्पतालमा कोरोना भाइरसका गम्भीर बिरामीका लागि अक्सिजन वितरण अभियानमा सक्रिय थिए ।

२०६९ माघमा सुरु भएको ‘अकुपाइ बालुवाटार’ अभियान, डा. गोविन्द केसीको अभियान, नेपाल खुल्ला छ, ‘नेताज्यू खबरदार , संविधान कहिले?’ जस्ता प्रतिरोधका राजनीतिक अभियानमा पनि उनी सहभागी गिए ।

पछिल्लो समय कोरोना महामारीमा सरकारको रवैयाविरुद्ध १२ दिनसम्म आमरण बसेका बम भद्र प्रतिरोधको अगुवाका रुपमा युवाहरुमाझ परिचित छन् ।

आफ्नो उम्मेदवारीबारे बमले भने, ‘अहिलेसम्म सडकबाट नागरिकका निम्ति सकेको काम गरेँ, अब संसद् पुगेर नागरिकको आवाज बोल्छु ।’

यद्यपि सरकारले प्रतिनिधिसभाको निर्वाचनको मिति भने तोकेको छैन । सत्तारुढ दलहरुबीच कात्तिक अन्तिम वा मंसिर पहिलो हप्ता निर्वाचन गर्ने गरी छलफल अघि बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array