नेप्सेमा सामान्य सुधार, कारोबार रकम ३ अर्ब ८२ करोडमा सीमित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ मंसिर २०८३, सोमबार
2 Min Read
Aa

विकास बैंक र बैंकिङ समूहले सम्हाले बजार, अधिकांश कम्पनीको सेयर मूल्यमा गिरावट

काठमाडौँ – साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार परिसूचक (नेप्से) मा सामान्य अंकको सुधार देखिएको छ। अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक २.२६ अंक (०.०८ प्रतिशत) ले उकालो लागेर २,६२३.५६ विन्दुमा कायम भएको हो।

- Advertisement -
Ad image

परिसूचकमा झिनो वृद्धि देखिए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही खुम्चिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज ३६० कम्पनीका १ करोड ८ लाख २६ हजार ९१३ कित्ता सेयर ४२ हजार ८५४ पटक खरिदबिक्री हुँदा कुल ३ अर्ब ८२ करोड ७६ लाख ६ हजार ५९० रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन बजारमा ३ अर्ब ८८ करोड रुपैयाँको कारोबार भएको थियो।

आज ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.५१ अंकले बढेर ४७८.५२ विन्दुमा पुगेको छ। यस्तै, फ्लोट इन्डेक्स ०.२६ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.४१ अंकले सकारात्मक बनेका छन्।

समग्र परिसूचक हरियो रहे पनि कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्य भने घटेको छ। आज १०५ कम्पनीको सेयर मूल्य बढ्दा १६५ कम्पनीको मूल्यमा गिरावट आएको छ भने १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

कारोबारमा आएका १३ उपसमूहमध्ये ४ वटा उपसमूह मात्र हरियो बनेका छन् भने बाँकी ९ वटा उपसमूह राताम्मे भएका छन्। विकास बैंक समूह सर्वाधिक ३१.२७ अंकले बढ्दा बैंकिङ, लगानी र ‘अन्य’ समूहले बजारलाई सकारात्मक दिशामा टिकाइराख्न मद्दत गरे। उता, निर्जीवन बीमा समूह भने सबैभन्दा धेरै ९०.०२ अंकले ओरालो लागेको छ।

कारोबार रकमका आधारमा आज वाणिज्य बैंकहरूको वर्चस्व देखिएको छ। ग्लोबल आइएमई बैंक १५ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर कारोबारसहित शीर्ष स्थानमा रह्यो।

कमाउनेतर्फ मेन्छियाम हाइड्रोपावरको सेयर मूल्यमा सर्वाधिक १०.५८ प्रतिशतको वृद्धि देखिएको छ भने भिजन लुम्बिनी ऊर्जा कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ८.३३ प्रतिशतले घट्न पुगेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्